खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्यूनीकरण गर्न माग गरेका छन्।
आइतबारदेखि माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू ७ बुँदे मागसहित सत्याग्रहमा बसेको बताए।
स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने स्थिति रहेको भन्दै भट्टराईले गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने बताए।
यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने उनको भनाइ छ।
‘स्थानीय स्रोतर सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन, ऐन बनाउन सक्दैन,’ भट्टराई भन्छन्, ‘असरल्ल गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिन्छ। स्थानीय नागरिकलाई रोजगारी दिन सकिन्छ, वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बन्छन्। त्यसैले स्थानीय स्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ। तर कानुन वाधक भएको कारणले सकिएको छैन।’
बाँदरको समस्या रहेको भन्दै उनले अबको ५ वर्षपछि कुनै पनि पार्टीका लागि मतदाता पाउने गाह्रो उनको समेत उल्लेख गरे।
‘बाँदरको अत्यन्तै धेरै समस्या छ, बाँदरको समस्याले नागरिकहरु बसाईं सरिरहेका छन्,’ भट्टराई भन्छन्, ‘अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको छ। यसलाई सरकारले सुन्ने की नसुन्ने ? प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्छ। यदी हुँदैन भने प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्छ।’
उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताए।
Shares

प्रतिक्रिया