प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक गतिविधि अगाडि बढ्न नदिन मातहतका कमिटीलाई निर्देशन दिएका छन्।
साउन ८ गते राति बालुवाटारमा सात वटै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई भेला गरेर ओलीले जसरी पनि विद्या भण्डारीको समानान्तर राजनीतिक गतिविधि रोक्नुपर्ने बताएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा राति १० बजेर ४० मिनेटमा सुरु भएको बैठक बिहान ३:३० बजेसम्म चलेको थियो, जहाँ ओलीले भण्डारीतिर लागेका नेता–कार्यकर्तालाई फकाउन, सम्झाउन र नमाने कारबाहीसमेत गर्न निर्देशन दिएका हुन्।
ओलीकै निर्देशन बमोजिम शनिबार एमालेले राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी अध्यक्ष सुरज खरेललाई निष्कासन गरेको छ। उनले अध्यक्ष ओलीका विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
भण्डारीको पक्षमा खुलेर धारणा राखेपछि खरेललाई कारबाही गरिएको एमाले नेताहरू बताउँछन्।
बालुवाटार स्रोतका अनुसार बिहीबार राति १०:४० देखि बिहान ३:३० सम्म छलफल भएको थियो। जसमा सात वटा प्रदेशका इन्चार्ज र अध्यक्षहरूले भण्डारी राजनीतिक रुपमा सक्रिय हुँदै जाँदा एमालेको संस्थापन पक्षमा पर्न सक्ने प्रभावबारे ब्रिफिङ गरेका थिए।
नवीकरण भइसकेको सदस्यता खारेज गरेर पार्टीमा सक्रिय हुन रोकिएपछि भण्डारीले मदन भण्डारी फाउण्डेशनबाट राजनीतिक अभियान चलाउने र त्यो झापाबाटै सुरु हुने सूचना पाएपछि बिहीबार रातिको बैठकमा यस्तो रिपोर्टिङ भएर काउन्टर रणनीति बनेको हो।
तर भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमा ‘आफ्नो सदस्यता कसैले खोस्न नसक्ने र आफू एमालेमै सक्रिय हुने’ बताएपनि राजनीतिक अभियानबारे केही खुलाइनन्।
बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेल स्वास्थ्यमा असहज भयो भन्दै ११ बजे बालुवाटारबाट निस्किए। लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल सोही दिन दिउँसो रूपन्देही फर्किसकेकाले बालुवाटार बैठकमा अनुपस्थित थिए।
‘सो बैठकमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेल हुनुहुन्थ्यो,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘दुई प्रदेशका अध्यक्षबाहेक सातै प्रदेशका अरु सबै सहभागी हुनुभयो।’
विद्या भण्डारीले एमालेको अध्यक्ष बन्ने तयारीसाथ पार्टी सदस्यता नवीकरण गरेर सक्रिय भएपछि ओलीले अहिले उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेललाई एक साथ उनको सामना गर्न खटाएका छन्। बिहीबारको बालुवाटार भेलामा महासचिव पोखरेल उपस्थित भएपनि यसको संयोजनाको जिम्मा भने पौडेललाई दिइएको र उनले त्यसैअनुसार गरेको सहभागी नेताहरूले बताए।
एमालेका सचिवद्वय पद्मा अर्याल लुम्बिनी र लेखराज भट्ट सुदूरपश्चिमको इन्चार्ज छन्। उनीहरू पनि सहभागी थिए। तर, उपमहासचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल सो भेलामा थिएनन्।
ओलीको यो निर्देशन आएको ४८ घण्टा पनि नबित्दै युवा संघ लुम्बिनीका अध्यक्ष निष्कासनमा पर्नुले सोही रणनीति कार्यान्वयनमा गएको धेरैको बुझाई छ।
‘राति १०:४० बजे सुरु भएको बैठकमा रिपोर्टिङ कर्णाली प्रदेशबाट सुरु भयो, सातै प्रदेशको सकिएर अध्यक्षले भनाइ राख्दासम्म बिहान (३ः३०) भइसकेको थियो,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘विद्या भण्डारीको समूहलाई देशव्यापी रूपमा के गर्ने भनेर रणनीति बनाइएको छ। गुटलाई सिध्याइएन भने गुटले पार्टी सक्छ, त्यसकारण गुटलाई अहिले नै सिध्याउनुपर्छ भनेर अध्यक्षले केही निर्देशन दिनुभएको छ, त्यो निर्देशन अनुसारको काम अघि बढिसकेको छ।’
वडा तहसम्म पुग्न निर्देशन
सातै प्रदेशको रिपोर्टिङ सकिएपछि पार्टी अध्यक्ष ओली बोल्न सुरु गरेका थिए। उनले एक घण्टाभन्दा बढी समय बोले। भण्डारी फेरि एमाले राजनीतिमा आउनुको कारण आफूले नबुझेको उनले बताए।
‘ट्याक्टफुल मुभमेन्ट गर्नुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनुभयो,’ ओलीको भनाइ उधृत गर्दै सहभागी ती नेताले भने, ‘एमालेको लोकप्रियतामाथि प्रहार गर्न विभिन्न तत्वहरू लागे। त्यसमा हाम्रा केही साथीहरू पनि मिसिनुभएको छ, यसलाई निस्तेज पार्नुपर्छ। यसलाई कमजोर पार्न तपाईंहरू अब दौडनुस्। संकटको बेला तपाईंहरू आधारभूत तहसम्म पुग्नोस्।’
ओलीले यही साउनको ५-६ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकबाट भण्डारीको नवीकरण भइसकेको सदस्यता खारेज गर्ने र एमालेको सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरिसकेकाले अब उनलाई ल्याउन खोज्ने नेताहरूको भूमिका पनि याद गर्न भनेका छन्।
‘भण्डारी सक्रिय भएर आइसक्नुभयो। अब उहाँको गतिविधि वडा तहसम्म आउन नदिनेगरी तपाईंहरू लाग्नुपर्छ। ११औँ राष्ट्रिय महाधिवेशनमा सोही अनुसारका प्रतिनिधि छनौटमा ध्यान दिनुहोला,’ ओलीको भनाइ थियो, ‘एमालेको बर्चस्व देख्न नचाहने तत्वलाई परास्त गर्नैपर्छ। सके त्यस्ता साथीहरूलाई पनि यतै ल्याउन पहल गर्ने, नसके कठोर कदम पनि चाल्न तयार हुनुपर्छ। यो अराजकताले समस्या ल्याउन सक्छ।’
आगामी भदौ २०–२२ मा एमालेको विधान महाधिवेशन हुँदैछ। त्यसका लागि प्रतिनिधि को को हुने भन्ने गत १०औँ महाधिवेशनमै तय भइसकेको छ।
सोही अनुरुप विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुन पाउने छैनन्।
कोसी र बागमतीमा समस्या, अरु प्रदेश सुरक्षित
नेताहरूले ओलीलाई विद्या भण्डारीको सक्रियताले कोसी र बागमती प्रदेशमा समस्या ल्याउन सक्ने रिपोर्टिङ गरेका थिए।
‘भण्डारीको गृहजिल्ला पनि भयो, फेरि उहाँको पक्षमा लागेका केही नेताहरूको प्रभाव कोसीमै छ। त्यही भएर पनि त्यहाँ अलि मेहनत गर्नपर्ने देखिन्छ भनेर अध्यक्षलाई भन्नुभएको छ,’ सहभागी अर्का नेताको भनाइ छ।
यस्तै, बागमती प्रदेशमा पनि भण्डारीको प्रभाव राम्रो रहेको नेताहरूले बताएका थिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौँ अध्यक्ष दीपक निरौला लगायत भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा स्वागत गर्नुपर्ने पक्षमा छन्।
‘पुराना नेताहरूले भण्डारीलाई साथ दिने संकेत गर्नुभएको छ, केन्द्रीय कमिटी बैठकमा बोल्ने बागमती कै नेताहरूले त्यसमा जोड दिनुभयो,’ ती नेताको भनाइ छ।
रिपोर्टिङ गर्नेहरूले सुदूरपश्चिममा कर्णबहादुर थापा एक्लैको प्रभाव खासै नहुने निचोड पनि ओलीलाई सुनाए।
अध्यक्ष ओलीको निर्देशनलगत्तै बैठक बसेर गतिविधि बढाउन नेताहरूले तयारी थालेका छन्।
एक प्रदेश इन्चार्जले भने, ‘अध्यक्षको निर्देशन आइसक्यो। अब प्रदेशले जिल्ला, जिल्लाले पालिका, पालिकाले आधारभूत तहसम्म बैठक र भेला राख्छ। भदौ १५ गतेभित्र सबैले रिपोर्ट केन्द्रमा पठाउनुपर्छ। त्यो भन्दा अगाडि नै विधान महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्छ।’
मधेस, गण्डकी र सुदूरपश्चिममा भण्डारी पक्षका नेता खासै नभएको सहभागीले ओलीलाई ब्रिफिङ गरेका छन्।
लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली नै भण्डारीलाई पार्टीमा स्वागत गर्नुपर्ने र दुई कार्यकाल भन्दा बढी दोहोरिन नपाउने र ७० वर्षे उमेर हदको पक्षमा उभिएका छन्। यद्यपि, अर्यालले ज्ञवालीको ज्यादा प्रभाव नरहेको रिपोर्टिङ गरिन्।
बैठकमा सबै प्रदेश र जिल्लाको विश्लेषण भएको सहभागी नेताहरूको भनाइ छ। ओलीले शनिबार राति पनि कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यलाई यस्तै प्रकारको निर्देशन दिएका छन्।
बालुवाटारमा सातै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई करिब ५ घन्टा राखेर ओलीले सानो हावाको झोँक्काले केही असर नपार्ने बताए।
‘सिंगो एमाले पार्टी र हामी नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ,’ ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोँक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’
अध्यक्ष ओलीले नेताहरूलाई एमालेको सक्रिय राजनीतिमा फर्कने र अध्यक्षा बन्ने भण्डारीको घोषणालाई ‘अकल्पनीय’ भने।
‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रूपमा एमालेले स्थापित गरेकी पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ, लामो समय जारी राजनीतिक संघर्षको उपलब्धिको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयं उहाँकै कद घटाउने काम गरेको छ,’ ओलीले नेताहरूलाई भनेका थिए।
Shares

प्रतिक्रिया