राजनीति


केपी ओलीकै पुस्तक देखाउँदै कर्ण थापा भन्छन्: पद पाइँदैन कि भन्ने डरले सत्य छाड्न सकिँदैन

केपी ओलीकै पुस्तक देखाउँदै कर्ण थापा भन्छन्: पद पाइँदैन कि भन्ने डरले सत्य छाड्न सकिँदैन

नेपालखबर
साउन १०, २०८२ शनिबार २०:१९, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र जारी ७० वर्षे उमेर र दुई कार्यकालको सीमासम्बन्धी बहसका सन्दर्भमा आज (शनिबार) एकैदिन फेसबुकमा लगालग तीनवटा स्टाटस लेखेका छन्।

पार्टीका बैठकहरूमा कार्यकारी पदमा ७० वर्ष उमेर नाघेपछि र दुई कार्यकाल भइसकेपछि बस्न नपाउने नीति हटाउन हुँदैन भन्ने मत राखेका थापाले आजका तीनवटै स्टाटसमा आफू यसमा अडिग रहेको महाधिवेशनसम्मै यो बहस जारी राख्ने जनाएका छन्। 

आजको अन्तिम स्टाटसमा चाहिँ उनले अध्यक्ष केपी ओलीकै ‘जबज र पार्टीको लोकतान्त्रीकरण’ पुस्तक सार्वजनिक गर्दै यो गहिरिएर पढे गाली गर्नेहरूले ठाउँ नै पाउने थिएनन् भनेका छन्। 

‘यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नू। अनि बहस गर्न आउनू। यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रित होइन, नेपाली विशेषताको समाजवादबारे हुने थियो एमाले स्थायी कमिटी सदस्य थापाले लेखेका छन्, गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन् गाली गरेका भरमा, पद पाइँदैन कि भन्ने डरले सत्य छाेड्न त सकिँदैन है।’

यस्ता छन्, उनका बाँकी दुई स्टाटस:

कसले कसलाई छोड्यो? कसले के छोड्यो? मूल्यांकन आफैँ गर्नुहोला। म त यही मान्यताको पक्षमा उभिरेहेको छु। जो कमरेड केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रिकरण गर्न भनी उठाउनुभएको थियो र पार्टीले स्वीकार गरी दुई कार्यकाल र ७० वर्षको उमेर हद लगाएको हो। महाधिवेशनसम्मै यी मुद्दामा स्वस्थ छलफल गरौँ।

‘कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याका रूपमा देखापरेको छ। पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आवश्यक प्रबन्ध नहुनु आदि कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोवैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौँ वाञ्छित/अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध/अवैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको छ। यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्‍याएको छैन, नेतृत्व परिवर्तनका लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ। यसले आजको तीव्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ। परिस्थितिले यस समस्याको समाधानका लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ।’

‘पार्टी जीवनको लोकतान्त्रीकरण कुनै पदको भागबन्डा या अधिवेशनको बेला हुने निर्वाचनको प्रश्न मात्रै होइन, यसको सार हो- पार्टीमा आम सदस्यहरुको सार्वभौमिकताको स्थापना, नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनका आधारमा नेतृत्व निर्माण र उपयुक्त विधिद्वारा जिम्मेवारी वितरणसहित सामूहिक नेतृत्वको स्थापना, पार्टीभित्र वैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वको कामको निश्चित विधिद्वारा जवाफदेहीताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरूमा दुई कार्यकालको सीमा निर्धारण आदि। अर्थात् सारमा पार्टी लोकतान्त्रीकरण पार्टी जीवनमा नयाँ रक्तसञ्चार गर्ने विधि हो। पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर संस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरूको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशील र सिर्जनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टकटक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकीर्णताले पार्टी जीवनलाई अस्वस्थ बनाउने भएकाले त्यस्ता तरिकाहरूलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ।’

०००

म विचारको निरन्तरतामा छु। कमिटीमा पहिलेदेखि यस्ता विचार राख्दै आएको हो। लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो। व्यक्तिसँग न आग्रह न पूर्वाग्रह। 

दसौँ राष्ट्रिय महाधिवेशनपछि हालसम्मको यस अवधिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढी गुटबन्दीमा पार्टी अल्झिएको छ। विगतको कैयन् समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरू थिए, जसका कारण फरक फरक बुझाइहरू रहने गर्दथे। यस अवधिमा मूल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन। तर पार्टी अध्यक्ष र महासचिवको नाम लिँदै उहाँले यस्तो भन्नुभएको छ, उस्तो भन्नुभएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ। पार्टी कार्यालयमै बसेर देशभरि गुटलाई प्रश्रय दिने काम भएको छ। केही सीमित मानिसहरू पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरूलाई दोस्रो दर्जाको सदस्यका रूपमा व्यवहार गर्ने गलत प्रवृत्ति हावी भएको छ। विश्व कम्युनिस्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरू बसेर गरेको सल्लाह र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलीय जनवादले सच्यायो। पार्टी जीवनको आन्तरिक लोकतान्त्रीकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्त्वपूर्ण उपलब्धि नेपालको कम्युनिस्ट आन्दोलनले प्राप्त गर्‍यो। त्यसबमोजिमको व्यवहार हुन सकिरहेको छैन। हामी खासखास समयमा चुकिरहेका छौँ। एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad