राजनीति


विद्या भण्डारीका पक्षमा बोल्दा युवा संघ प्रदेश अध्यक्ष निलम्बन

विद्या भण्डारीका पक्षमा बोल्दा युवा संघ प्रदेश अध्यक्ष निलम्बन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलको फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८२ शनिबार ११:११, काठमाडौँ

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा मत राखिरहेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संगठनका सबै जिम्मवारीबाट निलम्बन गरिएको छ।

चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश समितिले खरेललाई एक वर्षका लागि संघबाट निलम्बन गरेको हो। 

‘तपाईंलाई १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र ढंगले दुर्व्यवहार गरेको प्रतिनिधिहरूलाई धम्क्याएको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने र मानहानि गर्नेलगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले यस सम्बन्धमा तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो’, युवा संघ प्रदेश महासचिव महेश चौलागाईंको हस्ताक्षरमा जारी पत्रमा भनिएको छ, ‘तर यसरी तपाईंलाई सचेत गर्ने संगठनको सकारात्मक प्रयत्नका विपरीत तपाईंले संगठन र नेतृत्वलाई अवमूल्यन गरेको देखिएको छ। तपाईंले स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रले स्पष्टीकरण सोधेको समयमा केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र सबै कमिटी केन्द्रीय कमिटी मातहत रहने लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारभूत मान्यतालाई ठाडी चुनौती दिँदै स्वेच्छाचारी, मनोमानी तथा अहंकारी गतिविधि गर्दै चरम संगठनात्मक अराजकता प्रकट गरेर संगठनको स्थापित मूल्यमान्यता तथा अनुशासनमा गम्भीर आँच पुर्‍याएको पाइएकाले, संघको पदाधिकारी बैठक (मिति २०६२ साउन ९ गते को निर्णयअनुसार तपाईंलाई आजको मितिबाट लागु हुनेगरी राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दसौँ राष्ट्रिय महाधिवेशन, २०६२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित) को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको छ।’

रुपन्देहीको देवदहवासी खरेलले इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण पठाउँदै आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका थिए। 

देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा सुरजले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गरेका थिए।

उनले केही समयअघि फेसबुकमा लेखेका थिए, ‘पार्टीको माया छ र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ। अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्।’ 

यस्तो छ, निलम्बनसम्बन्धी पत्रको पूरा बेहोरा:

राष्ट्रिय युवा संघ नेपालको विधान, स्थापित मूल्यमान्यता, अनुशासन र संगठनको गरिमा अनुरूप जिम्मेवारी बहन गर्नु प्रत्येक सदस्यको कर्तव्य हो। तर पछिल्लो समय संगठनमा प्राप्त जानकारी, उजुरी तथा प्रमाणका आधारमा तपाईंको गतिविधिबाट संगठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको छ। यस सम्बन्धमा संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयानुसार तपाईलाई मिति २०६२ असार २५ गते स्पष्टीकरण सोधिएको थियो। तपाईंलाई १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र ढंगले दुर्व्यवहार गरेको प्रतिनिधिहरूलाई धम्क्याएको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने र मानहानि गर्नेलगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले यस सम्बन्धमा तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो।

तर, यसरी तपाईंलाई सचेत गर्ने संगठनको सकारात्मक प्रयत्नका विपरीत तपाईंले संगठन र नेतृत्वलाई अवमूल्यन गरेको देखिएको छ। तपाईंले स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रले स्पष्टीकरण सोधेको समयमा केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र सबै कमिटी केन्द्रीय कमिटी मातहत रहने लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारभूत मान्यतालाई ठाडी चुनौती दिँदै स्वेच्छाचारी, मनोमानी तथा अहंकारी गतिविधि गर्दै चरम संगठनात्मक अराजकता प्रकट गरेर संगठनको स्थापित मूल्यमान्यता तथा अनुशासनमा गम्भीर आँच पुर्‍याएको पाइएकाले, संघको पदाधिकारी बैठक (मिति २०६२ साउन ९ गते को निर्णयअनुसार तपाईंलाई आजको मितिबाट लागु हुनेगरी राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दसौँ राष्ट्रिय महाधिवेशन, २०६२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित) को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको छ।

हार्दिक अभिवादनसहित
महेश चौलागाईं महासचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad