केही पत्रकारहरूसँग मंगलबार (६ साउन) को कुराकानीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई ‘माझकिराँतकी छोरी’ का रूपमा चिनाएकी थिइन्। ‘कसैको डर–धम्कीले आफू पछि हट्ने महिला होइन’ भन्ने सन्देश दिन प्रयोग भएको थियो, ‘माझकिराँतकी छोरी’ को विम्ब।
चार दिनपछि बबरमहलस्थित एक पार्टी प्यालेसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो त्यो साहसको परिचय दिइन्।
जुन दिन उनले आफूलाई ‘माझकिराँतकी छोरी’ को हरूमा चिनाएकी थिइन्, त्यसै दिन एमाले केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको चैत २०८० मै नवीकरण भइसकेको एमाले सदस्यतालाई एमालेले स्वीकार नगर्ने निर्णय सुनाएका थिए।
शुक्रबारको पत्रकार सम्मेलनमार्फत भण्डारीले एमाले र अध्यक्ष ओलीको कतिपय निर्णयको प्रतिवाद गरेकी छन्, आफूबारेका अस्पष्टताहरूलाई प्रस्ट पार्न खोजेकी छन् र एमालेको निषेधका बाबजुद आफ्नो पार्टीगत–राजनीतिक यात्रा अघि बढ्ने अठोट गरेकी छन्।
त्यसक्रममा उनले एमाले नेतृत्वलाई ६ वटा सन्देश दिएकी छन्।
‘मैलेभन्दा पहिल्यै पार्टी सदस्यता पार्टीले सार्वजनिक गरेको हो’
तर, शुक्रबारको पत्रकार सम्मेलनमा भण्डारीले आफूभन्दा पहिले पार्टीकै तर्फबाट आफ्नो सदस्यता नवीकरणको विषय सार्वजनिक गरियो भन्ने दाबी गरिन्।
‘मैले यो (सदस्यता) विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए, अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो,’ पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, ‘सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा एमालेमा आबद्ध भएर अगाडि बढ्नु नै थियो।’
त्यसैक्रममा १४ असारमा जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरेको उनले बताएकी छन्।
‘एमालेले रोक्न खोजे पनि सक्रिय पार्टी राजनीतिमा लागिसकेँ’
संविधानका विभिन्न धाराहरूको हवाला दिएर भण्डारी पार्टी राजनीतिमा फर्कन नहुने निर्णय गरिएको एमालेले बताएको छ। तर, भण्डारीले भने ‘पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने संकल्प आफूले गरिसकेको’ उल्लेख गरेकी छन्।
अर्थात्, एमाले राजनीतिमा सक्रिय हुने विषय सामान्य ‘मनसाय’ को साटो ‘संकल्प’ रहेको र यो निर्णयबाट आफू पछि नहट्ने सन्देश उनले दिएकी छन्।
एमालेले पार्टीको ढोका बन्द गरेपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफूलाई एमाले नेतृकै रूपमा प्रस्तुत गरेकी थिइन्।
पत्रकार सम्मेलनको अन्त्यमा उनले आफ्नो हैसियत ‘एमालेको पूर्वउपाध्यक्ष’ भएको उल्लेख गरेकी थिइन्। लिखित वक्तव्यमा पनि उनले नामको पछाडि आफ्नो परिचयमा ‘पूर्वउपाध्यक्ष, नेकपा एमाले’ लेखेकी छन्।
भण्डारीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रयोग गरिएको ब्यानरमार्फत उनी ‘एमालेबाट अलग छैनन्’ भन्ने सन्देश दिन खोजिएको थियो। मदन भण्डारीको तस्बिर अंकित ब्यानरमा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र नेकपा एमाले ‘जिन्दावाद’ उल्लेख गरिएको थियो।
‘मदन भण्डारीले प्रदान गरेको सदस्यता हुलहुज्जतबाट खोसिँदैन’
भण्डारीका भनाइमा, उनले ४५ वर्षअघि पार्टीको सदस्यता प्राप्त गरेकी थिइन्। सदस्यता प्राप्त गरेपछि उनलाई मदन भण्डारीले नै शपथग्रहण गराएका थिए।
पत्रकारहरूका प्रश्नको जवाफ दिने क्रममा भण्डारीले आफ्नो सदस्यता गम्भीर छलफल र विवेकका आधारमा नभई हुलहुज्जतबाट गरिएको गुनासो गरिन्। यो निर्णय आवेग र उत्तेजनाका भरमा गरिएको आरोप पनि उनले लगाइन्।
‘यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई भने सधैँ छोप्न सकिँदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढंगले निर्णय लिनुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो,’ उनले भनेकी थिइन्, ‘पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्तप्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन।’
केन्द्रीय कमिटीको बैठकपूर्व भण्डारीले पार्टी अध्यक्ष ओलीसँग च्यासलस्थित केन्द्रीय कार्यालयमा ४ साउनमा भेटवार्ता गरेकी थिइन्।
त्यसक्रमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा छलफल गरेको उल्लेख उनले गरेकी छन्। उनका भनाइमा, त्यसपहिले भएका विभिन्न भेटहरूमा पार्टी जिम्मेवारीबारे पनि अध्यक्ष ओलीसँग कुराकानी हुने गरेको थियो।
‘त्यस (४ साउनको भेटवार्ता) को भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ,’ उनले भनेकी छन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।’
‘पार्टीसँगको आबद्धता राजनीतिक र संवैधानिक अधिकार हो’
मुलुकको सर्वाेच्च पदमा पुगिसकेको, त्यस आधारमा राष्ट्रिय एकताको प्रतीक बनेको, नेपाली सेनाको परमाधिपतिसमेत रहिसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कन नहुने र राजनीतिमा सक्रिय नरही पूर्वराष्ट्रपतिको पदीय मर्यादा कायम राख्नुपर्ने निर्णय एमालेले गरेको थियो।
तर, पत्रकार सम्मेलनमार्फत भण्डारीले एमाले निर्णयको प्रतिवाद गरेकी छन्। सक्रिय राजनीति गर्नबाट आफूलाई रोक्नु राजनीतिक र कानुनी दुवै दृष्टिले उपयुक्त नहुने जवाफ उनले एमाले नेतृत्वलाई दिएकी छन्।
‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको हुँ, राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो संवैधानिक अधिकार मात्र होइन। म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेकी हुँ।’
‘पार्टी एकताका लागि सक्रिय राजनीतिमा आएको हुँ’
एमाले र सरकारको नेतृत्वका लागि उनी सक्रिय राजनीतिमा फर्केको विश्लेषण भइरहेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा भण्डारी आफैँले पनि एमाले अध्यक्ष बन्ने गरी आफू सक्रिय राजनीतिमा फर्कन खोजेको संकेत गरेकी थिइन्।
तर, आफू सक्रिय राजनीतिमा आउनुको कारण ‘पदीय लालसा’ भन्दा ‘पार्टी एकता’ रहेको उनको दाबी छ।
‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन। मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनिन्, ‘मेरो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।’
आफ्नो पार्टी सदस्यता रोकिनु कानुनी हिसाबले समेत अनुपयुक्त रहेको उनको तर्क छ। यसक्रममा उनले नेपालको संविधानले समेत आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकका हरूमा प्रत्याभूत गरेको स्मरण गराएकी छन्।
‘संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन, यो घामजत्तिकै छर्लंग भएको विषय हो,’ उनले भनेकी छन्, ‘जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात् गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन।’
‘केन्द्रीय कमिटीले जबज प्रतिकूलको निर्णय गरेको छ’
एमालेले मुलुकको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेको र यसको असर पार्टीको साख र प्रतिष्ठामा पर्ने उनको जिकिर छ।
‘राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखी तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ,’ भण्डारी भन्छिन्, ‘आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए तापनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन।’
आफ्नो सदस्यता रोक्ने निर्णय जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरित भएको दाबी पनि उनले गरेकी छन्। भण्डारीका भनाइमा, जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म भनेकै विषद् छलफल गरेर विवेकसम्मत ढंगले निर्णय लिनुपर्दछ भन्ने हो।
तर, आफ्नाबारे निर्णय गर्दा पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएकाले त्यो निर्णय वैध र परिपक्व नभएको जिकिर उनले गरेकी छन्।
एमाले पार्टी बनाउन आफू लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको स्मरण गराउँदै उनले जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सबै एमाले पंक्तिसँग आग्रह गरेकी छन्।
यो आग्रह र संकल्प आफ्नो अन्तरात्माको आवाज भएको उल्लेख गर्दै उनले आफ्नो निर्णयबाट विचलित नहुने संकल्पसमेत पत्रकार सम्मेलनमा गरिन्। आफ्नो अभियानमा निर्धक्क, ढुक्क र दृढ भएर लाग्न र पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनसमेत उनले समर्थकहरूलाई आग्रह गरेकी छन्।
Shares

प्रतिक्रिया