नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुँदा गणतन्त्रमाथि नै प्रहार हुनसक्ने भएकाले उनलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिएको बताएका छन्।
एमालेको मंगलबार राति सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय लेख्ने कामसमेत गरेका ज्ञवालीले विद्याले पार्टीका लागि ठूलो योगदान दिएको र त्यो योगदानको कदर गर्दै पार्टीले ‘गणतन्त्र गौरव’बाट विभुषित गरेको पनि बताए।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले बुधबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले विद्या सक्रिय राजनीतिमा फर्कँदा उनी स्वयंको गरिमा घट्ने जिकिर पनि गरे।
राज्यका हरेक अंगमा महिला सहभागिता सुनिश्चित गराउन पनि विद्याको योगदान रहेको प्रसङ्ग झिक्दै उममहासचिव ज्ञवालीले सुरुमा प्रशंसाको पुल बाँधे। सम्मानित नेता भएको, पार्टीको उपाध्यक्ष भएको पनि बताए। उनले विद्याको त्यही योगदानको कदर गर्दै पार्टीले हीरक महोत्सवमा ‘गणतन्त्र गौरव’सम्मान प्रदान गरेको जिकिर गरे।
कम्युनिस्ट योद्धा भनेर हरेक वर्ष पार्टीले विभिन्न व्यक्तिलाई सम्मानित गर्ने गरेको प्रसङ्ग झिक्दै उनले भने,‘त्यो गणतन्त्र गौरव हामीले खुसुक्क दिएनौँ, सवै पूर्वप्रधानमन्त्री सवै दलका नेताहरू,रवि लामिछानेसहितको उपस्थितिमा ‘गणतन्त्र गौरव’ सम्मान अर्पण गर्यौँ। पार्टीले गर्ने त्यो सवैभन्दा ठूलो सम्मान हो। तर, एउटा गम्भीर प्रश्न उठ्यो। त्यो उचाइमा पुगेको व्यक्ति फर्केर पार्टी राजनीतिमा आउनु ठीक हो त? संविधानमा धेरै कुरा लेखिएको छैन। सप्पै कुरा लेखिँदैन पनि। ती धेरै कुरा कन्डक्टहरू कस्ता हुन्छन्,हाम्रा प्राक्टिसहरू कस्ता हुन्छन् भन्नेले निर्धारण गर्छ। गणतन्त्रमाथि चर्को हमला छ। ती हमलाबाट जोगाएर गणतन्त्रलाई जनताको मनमनमा स्थापित गर्नु छ। गणतन्त्रको रक्षा सेन र पुलिस गरेर त हुँदैन होला। त्यो दायित्व नेकपा एमालेको काँधमा पनि छ।’
उनले त्यसपछि आफ्नो ट्याबमा नेपालको संविधानको धारा ६१ खोजे र त्यसको भाग ६ का प्रावधानहरू उल्लेख गरे। जसमा राष्ट्रपतिलाई नेपाली सेनाको परामाधिपति,राष्ट्रिय एकताको प्रतिकसहित संविधानको संरक्षक मानेको छ। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकलै राष्ट्रपतिजस्तै संवैधानिक पद सभामुख हुँदा दल त्याग गर्न नपर्ने र सदस्यता निलम्बितमात्र रहने तर राष्ट्रपति हुँदा दल त्याग गर्नुपर्ने व्यवस्था रहेको जिकिर पनि गरे।
‘हाम्रा सभामुख देवराज घिमिरेलाई एमालेको सांसदको रुपमा नै गनिन्छ,उहाँले मत हाल्न नपाउनेमात्र हो। सभामुखबाट हटेपछि दलको नेता बन्न पाइयो तर राष्ट्रपतिबाट हटेपछि पुनःपार्टी सदस्य हुन मिल्दैन।’
उनले सिंगो देशको अभिभावक र राष्ट्रको संरक्षक भइसकेको व्यक्ति एउटा पार्टीको नेता बनेमा स्वयं व्यक्तिको गरिमालाई पनि राम्रो नगर्ने उनले जिकिर गरे। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधिशबाट मुक्त भएपछि उनीहरूलाई कुने संवैधानिक पदमा जान बञ्चित गरेको प्रावधान पनि उनले सम्झे। न्यायाधीशले पदमा रहँदा अर्को पदमा जाने आशमा गलत गर्ला भन्ने मनसायले त्यो प्रावधान राखिएको पनि उनको भनाइ थियो।
उनले अगाडि भने,‘हामीले संविधानको मर्म र भावना बुझ्ने हो। अक्षर र भावना हैन। अक्षर त लेखिएकै हुन्छन्,भावना लेखिएको हुँदैन। सिंगो संविधान पढेर निष्कर्षमा पुग्नुहुँदैन। हाम्रो संविधानले त्यो पदमा पुगेको व्यक्ति फर्केर फेरि पार्टी नेता बन्ने कुराको परिकल्पना गर्नुहुँदैन।’
त्यसपछि उनले नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवको प्रसंग निकाले। यादवको अहिलेको अवस्थाबारे चर्चा गर्दै उपमहासचिव ज्ञवालीले उदेशात्तमक भाषामा भने,‘उहाँ फर्के र नेता बनेको भए पनि हुन्थ्यो, बन्नुभएन, अब हामीले कस्तो नजिर निकाल्ने हाम्रो जिम्मेवारीको कुरा हो। त्यही भएर हाम्रो केन्द्रीय कमिटीले निष्कर्ष निकाल्यो कि पूर्वराष्ट्रपति सम्मानित रुपमै बस्नुपर्छ।अभिभावकीय भूमिकामै रहनु राम्रो हुन्छ।’
उनले केही समयअघि भएको राजावादी आन्दोलनको उदाहण प्रस्तुत गर्दै देशमा संकट परेको बेला पूर्वराष्ट्रपतिहरू गणतन्त्रको पक्षमा उभिनुपर्ने,गणतन्त्रवादी नेताहरूलाई बोलाएर सल्लाह दिनुपर्ने तर्क गर्दै दलीय राजनीति गर्दा त्यो सम्भव नहुने भएकाले पनि विद्यालाई पार्टी राजनीतिमा आउनबाट रोकिएको तर्क गरे।
उनले खिलराज रेग्मीलाई राष्ट्रध्यक्ष बनाउँदा एउटा समझादारी बनेको र त्यसले संविधानसभा चुनाव पनि गराए पनि त्यही प्वालबाट लोकमानसिंह कार्की छिर्न खोजेको प्रसंग सम्झिए। विद्यादेवी पार्टीमा आउँदा पार्टीलाई फाइदै भए पनि त्यसले अस्थिरता सिर्जना गर्नसक्ने सम्भावनालाई पनि ध्यानमा राखेर उनलाई पार्टी राजनीतिमा आउनबाट रोकेको जिकिर पनि गरे।
'रातमा केपी कमरेडको ऊर्जा थपिन्छ'
उनले उमेरमा आफूभन्दा केपी शर्मा ओली ११ वर्ष जेठो भए पनि राति काम गर्दा ओलीमा छुट्टै ऊर्जा आउने बताए। 'म अहिले ६३ पूरा हुँदैछु। केपी कमरेड मभन्दा ११ वर्ष जेठो हुनुहुन्छ। मलाई १० बजेपछि अनिँदो बस्न गाह्रो हुन्छ,' उनले भने, 'पहिला ३ रात ४ रात पनि आँखा झिमिक्क नगरिकन बसियो होला तर केपी कमरेड जब १० बज्छ, उहाँको त्यो ऊर्जा झन थपिँदै अनुहार झन उज्यालो हुँदै आउँछ,हामीलाई हाइ आउँदै गर्छ। मैले उदाहरण दिन खोजेको के भने उमेर भनेको पनि सापेक्ष कुरा रहेछ।'
उनले पछिल्लो पुस्ता भन्दैमा नयाँ सोच नहुने भन्दै नायिका मनीषा कोइरालाको उदाहरण दिए।
गिरिजाप्रसाद कोइरालाले ७५ वर्षको उमेरमा गणतन्त्रको लागि भएको आन्दोलनको नेतृत्वको गरेका तर उनकी नातिनी मनीषा कोइरालाले राजतन्त्रको पक्षमा बोलेको विषय सम्झँदै उनले भने,‘त्यसलाई के भन्ने? युवा पुस्ता भन्दैमा ऊ अग्रगामी हुँदो रहेनछ। योग्यता र क्षमताको कुरा रहेछ। जतताले पत्याए भने र तपाईंसँग ऊर्जा छ भने जुन उमेरमा पनि काम गर्न सकिन्छ। यी सवै कुरा हेरेर हामीले उमेर हद नराखेको हो।’
Shares

प्रतिक्रिया