पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल (पीएल) श्रेष्ठका विचारलाई आधार बनाउँदै नयाँ विचार/राजनीतिको विकास गर्न आह्वान गरेका छन्।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो भने आज ७ गते ४७औँ पुष्पलाल स्मृति दिवस मनाइँदै छ।
सोही अवसरमा पूर्वप्रधानमन्त्री भट्टराईले यी दुई नेताको गुनगान र मूर्तिपूजा गरेर आआफ्ना दलीय स्वार्थ पूर्ति मात्र नगरी उनीहरूले गरेका कर्मबाट सिकेर अहिले देशमा देखिएका समस्या समाधान गर्न सम्बन्धित पक्षलाई सुझाव दिएका हुन्।
भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब पहिलो र दोस्रो औद्योगिक क्रान्तिकालको विचारका वाहक बीपी र पीएलका योगदानहरूको जगमा टेकेर चौथो औद्योगिक क्रान्तिकालका नयाँ विचार/राजनीतिको विकास गर्ने साहस गरौँ। नयाँ युगका नयाँ मानिसहरूको आवश्यकता र आकांक्षा पूरा गरौँ। त्यही नै बीपी र पीएलप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’
यस विषयमा यस्तो छ, बाबुरामको पूरा वक्तव्य:
बीपी र पीएलको स्मृति दिवस संयोगले सँगसँगै मनाउँदै गर्दा देशको वर्तमान अर्थ-राजनीतिक संकट र पुराना दलहरूप्रति आम जनता र विशेषतः युवा पुस्ताको निराशा र आक्रोशको अन्तर्य खोतल्नेतर्फ सबैको खासै ध्यान नपुग्नु बिडम्वनापूर्ण छ।
यतिबेला ती युगीन व्यक्तित्वहरूको ओठे गुनगान र मूर्तिपूजा गरेर आआफ्ना दलीय, गुटीय र निजी स्वार्थ पूर्ति निम्ति होडबाजी गर्नुसट्टा उनीहरूको तत्कालीन समयसापेक्ष विचार, कर्म र जीवनबाट सिकेर अहिले उनीहरू भएका भए बदलिएको वर्तमान युग, देश र जनताका समस्या कसरी हल गर्थे र हामीले के गर्नुपर्ला भन्नेबाेरे गम्भीर विमर्श खै?
अरू देशहरूभन्दा पचास वा सय बर्ष ढिलै भए पनि आधुनिक प्रवोधन युग (इन्लाइटमेन्ट) बाट सुरु भएको व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने उदारवादी लोकतन्त्रका पक्षधर बीपी र मानव जातिमा अन्तरनिहित सामाजिकतालाई प्रधानता दिने समाजवादी लोकतन्त्रका पक्षधर पीएलले ती विचार-राजनीतिको बिउ नेपालमा रोप्न ऐतिहासिक योगदान गरेकै हुन्।
तिनै विचार-राजनीतिलाई समयानुकूल प्रयोग र विकास गरेर हाम्रो पुस्ताले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको हो।
एक्काइसौँ शताब्दीसँगै व्यापक बनेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल, जेनेटिक्स, नानो प्रविधि, एआईलगायत), पुँजीवादी भूमण्डलीकरण, पर्यावरण विनाश, आणविक युद्धको विभिषिका, उत्पादनको प्रचुरताबीच वितरणको बढ्दो असमानता आदिले नयाँ बहुआयामिक राष्ट्रिय र अन्तर्राष्ट्रिय संकट सिर्जना भइरहेछ।
यसले समग्र विचार-राजनीतिकै पुनर्संश्लेषण र पुनर्संरचना माग गरिरहेछ। यसै निम्ति विश्वभर र नेपालमा नयाँ र वैकल्पिक विचार-राजनीतिको खोजी भइरहेछ।
त्यसैले अब पहिलो र दोस्रो औद्योगिक क्रान्तिकालको विचारका वाहक बीपी र पीएलका योगदानहरूको जगमा टेकेर चौथो औद्योगिक क्रान्तिकालका नयाँ विचार/राजनीतिको विकास गर्ने साहस गरौँ। नयाँ युगका नयाँ मानिसहरूको आवश्यकता र आकांक्षा पूरा गरौँ। त्यही नै बीपी र पीएलप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
Shares

प्रतिक्रिया