उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन्।
‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ,’ पुष्पलाल स्मृती दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिस गर्ने तत्वहरूको सपना विफल भएको छ।’
फरक प्रसंगमा उनले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि दाबी गरे। सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिंगो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, ‘यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको छ।’
उनले कांग्रेस-एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि दाबी गरे। ‘बाहिर जसरी गठबन्धन भत्किंदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन, शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको निर्माण भएको हो,’अर्थमन्त्री पौडेलले भने, ‘आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन।’
Shares

प्रतिक्रिया