नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राईले विधानमा भएको दुई कार्यकाल र ७० वर्षको हद वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै हेरेर हटाइएको र त्यो उचित रहेको बताएकी छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा उनले ओलीलाई अद्भूत मानवको संज्ञा पनि दिइन्।
‘विधानमा दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउनु ठिक छ,’ उनले भनिन्, ‘यसको पुष्टि हो हरेक राजनीतिक निर्णय आवश्यकता र सापेक्षतामा निर्णय हुने गर्दछ। हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई नै हेरेर यो निर्णय गरिएको हो। त्यसमा केही अप्ठ्यारो मान्नुपर्दैन। किनकि, केपी ओली २४ घण्टामा १८ घण्टा होइन, २० घण्टासम्म देश र पार्टीको लागि खट्न सक्नुहुन्छ। खटिरहनुभएको छ। जुन सर्वसाधारण व्यक्तिले गर्नै सक्दैन। २० वर्षको युवाले पनि त्यसरी खट्न सक्दैन। अद्भुत मान्छेको नाम हो केपी ओली।’
ओली पार्टीको लागि मात्र नभएर देशकै लागि अपरिहार्य भएकाले उनका विरुद्धको घेराबन्दी तोड्नुपर्ने उनको भनाइ थियो।
‘आजको परिस्थितिमा हेर्दा केपी ओली र एमालेमाथिको घेराबन्दी राष्ट्रियतामाथिको घेराबन्दी हो, राष्ट्रिय विकास र समृद्धि समाप्त बनाउनको लागि गरिएको घेराबन्दी हो,’ राईले भनिन्, ‘हाम्रो देश नेपाललाई अस्थिरतामा लानको लागि गरिएको घेराबन्दी हो। किनकि केपी ओलीले गरेको चुच्चे नक्सा सार्वजनिक नाकाबन्दीको सामना विकास र समृद्धिको द्रुत गतिको विकासमाथि भएको षड्यन्त्रलाई समाप्त बनाउन सक्ने फेस गर्न सक्ने एक मात्र राष्ट्रिय व्यक्तित्व र नेता केपी ओली हुन्। यसकारणले हामीलाई केपी ओली अपरिहार्य छ। केपी ओली पार्टीको लागि मात्र होइन यो देशकै लागि अपरिहार्य नेता इतिहासकै बलिया नेता हुन्।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किन नमिल्ने र यो कुरा उनको निजी इच्छाले मात्र निर्धारण नगर्ने जिकिर पनि राईले बैठकमा गरिन्।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किन मिल्दैन। यो उहाँको व्यक्तिगत इच्छाले मात्र हुँदैन। यो राष्ट्रिय विधि र अनुशासनको विषय हो। राष्ट्रपति भन्ने पद गणतन्त्रको प्रतीक सेनाका परमाधिपति राजतन्त्रलाई हटाएर त्यो ठाउँ र ओहोदा गरिमा र सम्मान को प्रतीक भएको कारणले यो ओज र सम्मानका साथ उहाँ सधैं रहनुपर्दछ।’
Shares

प्रतिक्रिया