राजनीति


एमाले केन्द्रीय कमिटी बैठक आज, बोल्नेलाई ३ मिनेट मात्रै समय

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यले बोल्न नपाउने
एमाले केन्द्रीय कमिटी बैठक आज, बोल्नेलाई ३ मिनेट मात्रै समय

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८२ सोमबार ८:४२, काठमाडौँ

पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची छ। 

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युराेले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा पेस गर्नेछन्। 

एमाले सचिवालय र पोलिटब्युराे बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराउने तयारी छ। 

सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए। 

आजको बैठकको सुरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय, सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने छन्। यसैगरी महासचिवले सा‌गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधानकाे विषयकाे छलफलमा प्रवेश गर्ने छ।

एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो बाहेक करिब २३० जना केन्द्रीय सदस्य छन्। बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने आँकलन छ।

पार्टीको साउन १ गते बसेको सचिवालय, साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ।

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीम प्रस्तुत गर्नेछन्। केन्द्रीय कमिटीले पास गरेको विधान मातहका कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ। 

मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रस्तुत  गरिने गौतमले जानकारी दिए। भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad