मन्त्रालय एउटै हो– परराष्ट्र मन्त्रालय। तर, सिंहदरबारभित्र आजकल यो मन्त्रालय अलग–अलग भवनमा बाँडिएको देखिन्छ। एउटा ‘परराष्ट्र मन्त्रालय’ अर्थ मन्त्रालयअगाडि (पूर्वतर्फ) को साविक भवनमा देखिन्छ भने उद्योग मन्त्रालय उत्तरतर्फ अग्लो टावर भएको भवनमा पनि परराष्ट्र मन्त्रालयकै साइनबोर्ड लगाइएको भेटिन्छ।
उद्योग मन्त्रालयसँगैको भवनमा परराष्ट्र मन्त्रालय आंशिक रूपमा स्थानान्तरण गरिएपछि घुम्दैफिर्दै झण्डै ३७ वर्षपछि यो मन्त्रालय राजा वीरेन्द्रको निर्देशनमा निर्मित आफ्नै भवनमा आइपुगेको छ।
२०४० को दशकको मध्यताका सिंहदरबार परिसरस्थित आफ्नो भवनबाट बाहिरिएको परराष्ट्र मन्त्रालय गतसाल गरिएको संगठन र व्यवस्थापन (ओएन्डएम) सर्वे अनुसार स्थापना गरिएका पाँच नयाँ महाशाखाहरूसँगैै फेरि आफ्नै पुरानो ‘बासस्थान’ मा आइपुगेको हो।
विदेशीहरूको आवतजावत भइरहने र आँखा पर्ने भएकाले राजा वीरेन्द्रको निर्देशन अनुसार आधुनिक डिजाइनमा यो भवनको निर्माण विसं २०३१ मा गरिएको थियो।
यो भवन निर्माण गर्दा माथिल्लो भागमा सिसाको टावरसहितको खण्डसमेत निर्माण गरिएको थियो। जानकारहरूका भनाइमा देश–विदेशमा सञ्चार सम्पर्कको प्रमुख साधन आकाशवाणीका उपकरणहरू शिशाद्वारा निर्मित यही टावरमा राखिएका थिए।
परराष्ट्र मन्त्रालयको इतिहासका ज्ञाता, पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराईका अनुसार सिंहदरबार आगलागीपछि परराष्ट्र मन्त्रालयको भवन आधुनिक शैलीको हुनुपर्छ भन्ने राजा वीरेन्द्रको निर्देशन अनुसार यसको डिजाइन इन्जिनियर शंकरनाथ रिमालले गरेका थिए।
‘सिंहदरबार आगलागीमा पर्नुअघि परराष्ट्र मन्त्रालय पनि सिंहदरबार मूलभवनमा थियो,’ डा. भट्टराईले भने, ‘सिंहदरबार आगलागीमा परेपछि परराष्ट्रको आफ्नै भवन निर्माण भएको हो।’
सिंहदरबार आगलागीपछि निर्माण सुरु भएको भवनको निर्माण कार्य सम्पन्न भएपछि यसको उद्घाटन राजा वीरेन्द्रले आफ्नो राज्याभिषेक समारोह (१२ फागुन २०३१) भन्दा ११ दिनअघि १ फागुन २०३१ गरेका थिए।

नयाँ भवन निर्माणअघि मन्त्रालयको काम–कारबाही भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट सञ्चालन गरिएको थियो।
तर, आफ्नै लागि निर्माण गरिएको भवनमा परराष्ट्र मन्त्रालय करिब १४ वर्षमात्र रह्यो। मन्त्रालयको जनशक्ति र आकारको विस्तार एवं सरकारी गेस्टहाउसको रूपमा रहेको शीतलनिवासमाथि विभिन्न स्वार्थ समूहरूले आँखा गाड्न थालेपछि परराष्ट्रलाई सिंहदरबारबाट शीतलनिवास सारिएको थियो।
‘सिंहदरबार आगलागीपछि परराष्ट्र मन्त्रालय भवनको निर्माण गरिँदा मन्त्रालयको आकार १०–१५ वर्षभित्रै धेरै वृद्धि हुन्छ भन्ने अनुमान थिएन,’ विसं २०२० को दशकमा परराष्ट्र सेवामा प्रवेश गरेका मन्त्रालयका पूर्व चिफ अफ प्रोटोकल माधव खनालले भने, ‘तर विस्तारै मन्त्रालयको जनशक्ति बढ्यो, नयाँ महाशाखाहरू खुले, त्यसपछि मन्त्रालयको भवन साँघुरो हुन थाल्यो।’
खनालका अनुसार, जनशक्ति र संरचनाहरूको वृद्धिका कारण एकातिर भवन मन्त्रालयका लागि अपुग हुन थालेको थियो। अर्काेतिर केही अघि सरकारी गेस्ट हाउस खारेजी भएपछि शीतलनिवास खाली हुन पुगेको थियो।
खाली हुन पुगेको शीतलनिवास भाडामा होटल सञ्चालन गर्ने प्रयास केही व्यापारीहरूले थाले। त्यो प्रयासलाई रोक्न पनि सिंहदरबारबाट शीतल निवासमा मन्त्रालय सारिएको थियो।
शीतलनिवास श्री ३ चन्द्रपुत्र कृष्ण शमशेरले २००७ को परिवर्तनपछि सरकारी गेस्ट हाउस निर्माण गर्नेगरी नेपाल सरकारलाई उपहारको रूपमा प्रदान गरेका थिए। तर, सरकारी गेस्ट हाउस नरहने निर्णय भएपछि दरबारियाहरूलाई प्रयोग गरेर शीतलनिवासमा व्यापारिक होटल निर्माण गर्ने प्रयास सुरु गरेपछि तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको जोडबलमा सिंहदरबारस्थित आफ्नै भवनबाट परराष्ट्र मन्त्रालय शीतलनिवास सरेको खनाल बताउँछन्।
‘शीतलनिवास सरकारी सम्पत्ति मात्र थिएन, अमूल्य सम्पदा पनि हो, परराष्ट्र मन्त्रालय त्यहाँ नसारिएको भए स्वार्थसमूहले व्यापारिक रूपमा त्यसको प्रयोग गर्न पनि सक्थ्यो,’ खनालले भने, ‘तत्कालीन परराष्ट्रमन्त्री उपाध्यायले कुराकानी गरेपछि राजा वीरेन्द्र पनि परराष्ट्र मन्त्रालय शीतल निवास स्थानान्तरण गर्न सहमत हुनुभयो।’

यो पृष्ठभूमिमा सार्कको दोस्रो शिखर सम्मेलन १६–१८ कार्तिक २०४४ (२–४ नोभेम्बर १९८७) अघि मन्त्रालयलाई सिंहदरबारबाट शीतलनिवास स्थानान्तरण गर्ने कार्य सुरु भएको थियो।
परराष्ट्र मन्त्रालय अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक एवं अस्ट्रियाका लागि पूर्व नेपाली राजदूत प्रकाशकुमार सुवेदीका अनुसार, सार्क सम्मेलनअघि परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, सार्क हेर्ने महाशाखा र चिफ अफ प्रोटोकलका कार्यालय शीतलनिवास सरिसकेका थिए।
‘म असार २०४५ मा परराष्ट्र सेवामा नियुक्त भएँ, त्यसै वर्षको कार्तिकमा मेरो सेवा सुरु भयो। मैले सेवा गर्दा मन्त्रालयका केही महाशाखा सिंहदरबारस्थित आफ्नै भवनमा थिए,’ सुवेदीले सम्झे, ‘विसं २०४५ को माघमा मन्त्रालय सिंहदरबारबाट पूर्ण रूपमा शीतलनिवासमा सरिसकेको थियो।’
२०४४–४५ मा सिंहदरबारबाट शीतलनिवास स्थानान्तरित भए पनि परराष्ट्र मन्त्रालय स्थायी रूपमा शीतल निवासमा रहन पाएन। परराष्ट्र मन्त्रालय शीतल निवासमा करिब २० वर्ष रह्यो।
पञ्चायतको अन्तिम समयताका सिंहदरबारबाट शीतल निवास पुगेको मन्त्रालय गणतन्त्र स्थापना र राष्ट्रपति चयनसँगै फेरि शीतलनिवास छाड्न बाध्य भयो। र, नारायणहिटीमा स्थानान्तरित गरियो।
राष्ट्रपति निर्वाचनसँगै राष्ट्रपति कार्यालय र निवास कहाँ राख्ने भन्ने समस्या उत्पन्न भयो। यो समस्याको समाधान शीतलनिवासबाट परराष्ट्र मन्त्रालय स्थानान्तरणमार्फत् खोजियो।
मन्त्रालयलाई शीतलनिवासबाट नारायणहिटीमा स्थानान्तरित गर्ने निर्णय तत्कालीन मन्त्रिपरिषदले गर्यो। नारायणहिटी दरबारको पश्चिमतर्फको प्रशासनिक भवनमा परराष्ट्र मन्त्रालय राखियो। दरबार हत्याकाण्डपछिका राजा ज्ञानेन्द्रका लागि छुट्टै कार्यालय समेत त्यही भवनमा स्थापना गरिएको थियो, झ्याल–ढोकामा बुलेटप्रुफ सिसासहित।
तर, नारायणहिटीमा पनि परराष्ट्र मन्त्रालय लामो समय रहन पाएन। करिब तीन वर्षपछि २०६८ ताका मन्त्रालयलाई फेरि सिंहदरबार सारियो।
त्यसयता १३ वर्षदेखि यो मन्त्रालय अर्थ मन्त्रालयको पूर्वतर्फको सेतो भवनमा रहँदै आएको छ। तर, अहिले मन्त्रालय रहेको भवन पनि आफ्नै नभएकाले यहाँपनि मन्त्रालय लामो समय रहने सम्भावना नरहेको अधिकारीहरू बताउँछन्।
त्यसैक्रममा स्थापना गरिएका नयाँ महाशाखाहरू सहित परराष्ट्र मन्त्रालय फेरि आफ्नो पुरानो भवन खोज्दै आइपुगेको हो।
परराष्ट्र मन्त्रालय शीतलनिवास स्थानान्तरण गरिएपछि उसको भवनमा सामान्य प्रशासन मन्त्रालय थियो। तर समयक्रममा सामान्य प्रशासन मन्त्रालयलाई भवन साँघुरो हुन थाल्यो र त्यहाँबाट अर्काे भवनमा स्थानान्तरित भयो।
सामान्य प्रशासन मन्त्रालय पनि स्थानान्तरित भएपछि केही वर्षयता यो भवन प्रयोगविहीन रहँदै आएको थियो। त्यसपछि आफ्नो पुरानो भवनलाई मर्मत गरेर परराष्ट्र मन्त्रालय आंशिक रूपमा यहाँ स्थानान्तरित भएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, सार्वजनिक कूटनीति, आर्थिक कूटनीति, डायस्पोरा कूटनीति, नीति योजना र अनुसन्धान, उत्तर अमेरिका र दक्षिण अमेरिका गरी पाँच महाशाखाहरू यो भवनमा स्थापना गरिएका छन्। यी सबै महाशाखाको स्थापना गतसाल मात्र भएको हो।
परराष्ट्र अहिले जुन मूल भवनमा रहेको छ, त्यो अर्थ मन्त्रालय स्वामित्वको भवन भएकाले त्यहाँ पनि केही वर्ष मात्र त्यहाँ रहने र स्थानान्तरित हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।
‘अहिले मन्त्रालय रहेको मूल भवन अर्थ मन्त्रालय स्वामित्वको भवन हो, सबै मन्त्रालय सिंहदरबारभित्र राख्ने योजना अनुसार परराष्ट्र मन्त्रालयलाई नारायणहिटीभित्र ल्याउने क्रममा त्यो भवनमा राखिएको थियो,’ मन्त्रालयका अर्का एक पदाधिकारीले भने, ‘नजिकै संसद् भवन बन्दै गरेको र यो भवन अर्थ मन्त्रालयको भएकाले यहाँ लामो समय परराष्ट्र मन्त्रालय रहन मुस्किल छ।’
परराष्ट्रमन्त्री, परराष्ट्रसचिवको कार्यालय लगायत महत्त्वपूर्ण महाशाखाहरू यसै भवनमा यथावत छन्।
‘यहाँबाट पनि सर्नै पर्ने स्थिति छ। त्यसैले, हाम्रो आफ्नै पुरानो भवन आसपास अर्काे भवन बनाउने वा नजिकै रहेको उद्योग मन्त्रालयको भवनमा मन्त्रालय सार्नेमध्ये दुई विकल्प छन्,’ ती अधिकारीले भने, ‘सरकारले उद्योग मन्त्रालयको भवन परराष्ट्र मन्त्रालयलाई दियो भने सबैभन्दा उपयुक्त त्यही हुन्छ। त्यो सम्भव भएन भने पुरानो भवनको पश्चिमतर्फको खाली जमिनमा नयाँ भवन निर्माण होला।’
Shares

प्रतिक्रिया