राजनीति


पोलिटब्युरो बैठकपछि ३ नेताको टिप्पणी- पार्टी थप एकताबद्ध हुने आधार तय भयो

पोलिटब्युरो बैठकपछि ३ नेताको टिप्पणी- पार्टी थप एकताबद्ध हुने आधार तय भयो

नेपालखबर
साउन ३, २०८२ शनिबार २२:४४, काठमाडौँ

नेकपा एमालेका नेताहरूले  पोलिटब्युरो बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने संकल्प गरेको बताएका छन्।

महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले ‘वादे वादे जायते तत्व बोध’ शीर्षकमा फेसबुकमा लेख्दै पार्टीको सचिवालय बैठकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मत रूपमा स्विकारेको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले पर्सि ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यी प्रस्तावहरू पेस गरिने उनले लेखेका छन्।

सचिवालय र पोलिटब्युरोका बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने संकल्प गरेको महासचिव पोखरेलको भनाइ छ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको समग्र परिदृश्यको चर्चा गर्दै विधानको बहसका विषयमा चौथो पोलिटब्युरो बैठक ‘कट अफ बैठक’का रूपमा रहेको उल्लेख गरेका छन्। सचिवालयले विधान संशोधनका लागि पेस गरेको प्रस्ताव पोलिटब्युरो बैठकले महत्त्वपूर्ण सुझाव, टिप्पणी र रायसहित प्रस्तुत गरेको ज्ञवालीको भनाइ छ। 

ज्ञवालीले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका धारणाहरू पनि सार्वजनिक गरेका छन्।

‘पार्टी जीवनको लोकतन्त्रीकरणलाई सुविधाअनुसार खास बुँदामा होइन, समष्टिमा बुझ्नुपर्ने, पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा हासिल गर्नु आफ्नो एक मात्र उद्देश्य रहेको बताउनुभएको छ ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।

२०७८ असोजमा भएको विधान महाधिवेशन र सोही वर्षको मंसिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका 'भ्रामक प्रचारलाई बैठकले खारेज गरेको' ज्ञवालीले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यस बैठकलाई कट अफ बैठकका रुपमा लिने र सिंगो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने संकल्प पनि बैठकले गरेको छ।’

स्थायी कमिटी सदस्य भट्टराईले पूर्वराष्ट्रप्रमुखलाई राजनीतिमा पुनः संलग्न हुने विषयलाई लिएर एमालेभित्र भाँडभैलो मच्चाउने तत्त्वहरूलाई पोलिटब्युरो बैठकले निराश पारेको भनी टिप्पणी गरेका छन्। ‘यो बैठकले पार्टी एकताप्रति गहिरो प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पार्टी अझ एकताबद्ध र सुदृढ भएर अघि बढ्ने मार्गचित्र पनि प्रस्तुत गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad