नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा रहेको बताएको छ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख गौतमले पार्टीको विधानको धराा ८ र ९ आर्कषित भएकाले त्यो स्थगन भएको बताए।
‘नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र धारा ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ,’ गौतमले भने, ‘पार्टीको धारा ८ र ९को व्याख्यापछि पार्टीले निर्णय लिन्छ।’
बैठकमा पदाधिकारी बाहेक ६८ जनाले धारणा राखेका थिए। त्यसमध्य धेरैले पूर्वराष्ट्रपति पार्टी राजनीतमा फर्किने विषय गम्भीर रहेको बताएको गौतमले जानकारी दिए।
‘धेरैजसो नेताहरूले भण्डारीजस्तो व्यक्तित्व, जसले राजकीय जिम्मेवारी तथा सेनाको परमाधिपतिको भूमिका निर्वाह गरिसकेको छ, उहाँ प्रत्यक्ष पार्टी राजनीतिमा फर्कनु गम्भीर विषय हुने धारणा व्यक्त गरेका छन्,’ गौतमले भने, ‘उहाँलाई अहिले नै अध्यक्ष बनाएर अघि बढ्ने भन्ने विषय सहज छैन,तर पार्टीले यसबारेमा गम्भीर छलफल गरेर उचित समयमा निर्णय गर्नेछ।’
त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी बनाउने निर्णय समेत गरेको छ। ‘जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउने कि कार्यकारी बनाउने भन्ने छलफलमा अन्ततः कार्यकारी बनाउने निष्कर्ष निकालिएको छ,’ गौतमले भने, ‘यस्तै, प्रदेश र स्थानीय तहका कमिटीहरू पनि कार्यकारी रहने निर्णय भएको छ।’
Shares

प्रतिक्रिया