राजनीति


एमाले सचिवालय बैठकमा ओलीले झोकिँदै सोधे: तपाईंको उद्देश्य मलाई हटाउने हो? पोखरेलले भने: हो

एमाले सचिवालय बैठकमा ओलीले झोकिँदै सोधे: तपाईंको उद्देश्य मलाई हटाउने हो? पोखरेलले भने: हो

बिहीबार बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अध्यक्ष केपी शर्मा ओली


सागर न्यौपाने
साउन २, २०८२ शुक्रबार ११:४६, काठमाडौँ

बिहीबार (साउन १ गते) बसेको नेकपा एमालेको सचिवालय बैठक यसकारण पनि महत्वपूर्ण थियो, पहिलो- पार्टी विधान संशोधन हुँदै थियो भने दोस्रो- ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने कि नहटाउने?

बिहीबार दिउँसो पौने २ बजे एमाले केन्द्रीय कार्यालय (च्यासल) मा सुरु सचिवालय बैठक राति साढे ११ बजेसम्म चल्यो।

बैठकमा खासगरी ७० वर्षे उमेर हद र दुई कार्यकालबारे सचिवालय सदस्यहरूबीच निकै बेर बहस भयो।

जबकि, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनलाई समेत छायामा पार्नेगरी मध्यरातसम्म यी दुई विषयमा बहस भयो।

एमालेका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार यस विषयमा सर्वसहमति जुट्नै सकेन। 

यसपछि बहुमतबाट ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी पनि एमाले नेतृत्वमा रहन पाउने व्यवस्था हटाउने निर्णय भएको उनले बताए। 

१० घण्टा लागेको त्यो विषय 
बिहीबारको सचिवालय बैठकमा १८ जनै पदाधिकारी सहभागी भएका थिए। एमाले सचिवालय कमिटी १९ सदस्यीय भए पनि सचिव टोपबहादुर रायमाझी जेलमा भएकाले निलम्बित छन्। 

विधान संशोधन मस्यौदाको जिम्मा पाएका उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका तीनवटा संशोधन प्रस्तावले बैठक लम्ब्यायो। 
जसमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउनेदेखि उमेर हद र कार्यकालका विषय थिए। 

पदाधिकारी र केन्द्रीय सदस्य संख्यामा भने खासै विवाद भएन। 

‘त्यसमा हामीले व्यवस्थित रूपले छलफल गर्‍यौँ, केन्द्रीय कमिटीको आकार १९९ प्रस्ताव थियो, त्यहाँबाट २५१ बनाइयो। पदाधिकारी संख्या ११ प्रस्ताव थियो, १५ सदस्यीय बनाइयो। पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने पनि समझदारी बनाइयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘हामी छलफल गर्दै सहमति गर्दै, छलफल गर्दै सहमति गर्दै टुंग्याउँदै गयौँ।’

तर, ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले सचिवालयकै नेताहरूलाई विभाजित गराएको अर्का पदाधिकारीले बताए। 

झण्डै १० घण्टासम्म बैठक बस्नुपर्ने अवस्था यसैले सिर्जना गरेको र नेताहरूलाई लागेको विषय खुलस्त राखेको पनि उनले बताए। 

‘जब ७० वर्षे र दुई कार्यकालका विषय प्रवेश भयो। यो किन हटाउने? यसको आधार के हो? यो कहिलेबाट सुरु भएको बुझ्नुपर्‍यो भन्दै केही साथीहरूले केपी कमरेडकै संयोजकत्वमा बनेको कार्यदल सातौ राष्ट्रिय महाधिवेशनपछि आठौँ महाधिवेशनभन्दा अगाडि (२०६३ साल) त्यतिबेलादेखिका हाम्रा बहस र छलफल निष्कर्षसहित यो प्रावधान राखेका होइनौँ भनेर विगत सम्झाउनुभयो,’ ती पदाधिकारीले भने।

‘त्यहाँ व्यक्ति कसलाई राख्ने? कसलाई हटाउने त्यतातिर नजाऊ। यो नीति हामीले आजसम्म पास गर्दै आएको ठिक हो कि होइन? हामीले ठिक भन्दै आयौँ। यहाँसम्म कि पहिलो विधान महाधिवेशनमा पनि धारा ६४ मा दुईवटा क्लज राख्यौँ हामीले। राख्न त छलफल गरेरै राख्यौँ। त्यतिकै राखेको त होइन। त्यसकारण अबपनि यसलाई कायम गर्नुपर्छ/राख्नुपर्छ भन्नेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली लगायतका पदाधिकारीका साथीहरू उभिनुभयो।’

उनले थपे, ‘तर, राख्नुहुँदैन भन्नेमा अध्यक्ष केपी शर्मा ओली महासचिव, उपमहासचिव र केही सचिव हुनुभयो। केही साथीहरू तटस्थ पनि बस्नुभयो। यही विषयमा सहमति जुट्न सकेन। बहुमत र अल्पमत हुने अवस्था बन्यो।’

उनका अनुसार लामो समय छलफलपछि उमेर हद र दुईकार्यकालको प्रावधान हटाउनुपर्छ भन्नेमा बहुमत नेता उभिए। 

‘त्यसप्रति असन्तुष्टि जनाउँदै केही साथीहरूले लिखित मौखिक रूपमा भिन्न मत नै राख्नुभयो, नोट अफ डिसेन्ट भनेर चाहिँ लेख्नुभएन,’ उनले भने, ‘उहाँहरूको राय हिजो जे सन्दर्भमा गरिएको थियो, आज पनि सान्दर्भिक छ, अझ महत्त्वपूर्ण छ। यसको दीर्घकालीन असर पर्छ पार्टी जीवनमा, भविष्यमा गएर भन्ने थियो।’

बैठकमा अल्पमत पक्षका नेताको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले थपे, ‘दुईवटा विषय हटाउने कुरा अहिले सान्दर्भिक छैन भन्ने पक्ष अल्पमतमा पर्‍यो। सचिवालयका बहुमत सदस्य त्यतिबेला आवश्यक थियो, अहिले छैन भन्नेमा पुग्नुभयो।’

यद्यपि निर्णयमा भने सो शब्द उल्लेख गरिएको छैन। 

‘अन्तिममा बहुमतका आधारमा पास भयो। त्यसलाई बहुमत, अल्पमत केही पनि नभनीकन सचिवालयले त्यसलाई अनुमोदन गरेको भनिएको छ’, बैठकमा सहभागी अर्का नेता भन्छन्। 

ओली र पोखरेलबीच सवालजवाफ
उपाध्यक्ष विष्णु पौडेलले दुई कार्यकालको प्रावधान पहिले नै विधानबाट हटाइसकिएको बताएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीनवटा विधान किन छापिएको भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरे। 

त्यसपछि ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको कुरा सुनेर हिँडेको भन्दै प्रतिप्रश्न गरे। 

केही बेर ओली-पोखरेलबीच सवालजवाफ भयो।

‘७० वर्षे उमेर हद र दुईकार्यकालको प्रावधान किन राख्नुपर्छ? केका लागि? मलाई हटाउन? किन यसमा तपाईँहरूको जोड छ? मलाई हटाउन खोजेको हो र’, ओलीको प्रश्न उद्धृत गर्दै अर्का नेताले भने, ‘यो दुईवटा क्लज हुँदा त स्वयं म हट्ने कुरा हुन्छ। महाधिवेशनमा ७० वर्ष र दुई कार्यकाल भएपछि त म फेरि अध्यक्ष उठ्न मिल्दैन। मलाई हटाउनकै लागि यो विषय अलिकति बढ्ता उठाइराख्नुभएको कि क्या हो?’ 

लगत्तै ईश्वर पोखरेलले अँ भन्ने जवाफ दिए।

‘अँ हो’, हटाउने होइन, अब तपाईँले छोड्नुपर्छ’, पोखरेलको जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईँको दुई कार्यकाल भइसक्यो, ७४/७५ वर्ष हुनुभयो। अब तपाईँ ससम्मान बिदा हुनुपर्छ।’

त्यसपछि ओली ज‌ंगिए। 

‘म नभई एमाले चल्दैन भनेर फ्याट्टै अध्यक्षले जवाफ दिनुभयो’, ती पदाधिकारीले थपे। 

ओलीले नै प्रवेश गराए भण्डारीको विषय 
बैठकको सुरुमै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुन खोजेको विषयले पार्ने असरबारे ब्रिफिङ गरेका थिए। 

‘उहाँको प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढायो, हामीले गणतन्त्र गौरवका रूपमा उहाँलाई सम्मान गरेका थियौँ, त्यसबेलासम्म उहाँ राजनीतिमा आउने कुनै छेकछन्द थिएन,’ ओलीले भने, ‘उहाँले पार्टीमा आउने औपचारिक घोषणा मात्र होइन, अध्यक्षमै आउने घोषणा गरिसक्नुभएको छ। पार्टीभित्र ध्रुवीकरण रोक्न एकताबद्ध रूपले जानुपर्छ, अब संस्थागत निर्णयको बेला आयो।’

भण्डारीलाई भदौ २०-२२ सम्म बस्ने विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने निर्णय बैठकले गरेको छ। त्यसबाहेक अब उनी एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि बन्न पाउने कि नपाउने निर्णय पछि मात्र हुने नेताहरू बताउँछन्।

‘विद्याजीको बारेमा सबै कुरा हिजोको बैठकमा भ्याइएन। अब उहाँ (विद्याजी) सँग अध्यक्षले कसरी काम गर्ने? उहाँलाई कसरी काममा लगाउने भन्ने कुरा अर्काे पटक यो बैठक सकेर गर्ने कुरा भएको छ। उहाँको बारेमा खासै केही निर्णय भएन,’ उपाध्यक्ष गुरु बरालले भने। 

त्यसबाहेक एमालेले दुई खालका पार्टी सदस्य बनाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad