नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने कुरालाई नेकपा एमालेले सम्मानजनक ढंगले सेटल (व्यवस्थापन) गर्ने बताएका छन्।
नेकपा एमालेको सचिवालय बैठक जारी रहेको च्यासल परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यो क्षमता एमालेसँग भएको उल्लेख गरे। ‘उहाँजत्तिको मान्छेले पार्टीको प्रणालीबाटै जानुहुन्छ, यसलाई हामीले सम्मानजनक ढंगले सेटल गर्छौँ,’ भट्टराईले भने, ‘नेकपा एमालेसँग त्यो क्षमता छ।’
उनले पूर्वराष्ट्रपति भण्डारी किन राजनीतिमा आउन चाहेको हो भन्ने कुरा पार्टीमा आएर भन्ने समेत विश्वास व्यक्त गरे। ‘उहाँको उदेश्य के छ, गन्तव्य के छ? उहाँले के चाहानु भएको छ? किन आउन खोज्नु भएको छ? त्यो पनि त उहाँले पार्टीमा प्रष्ट बताउनुहोला,’ भट्टराईको भनाइ छ, ‘सार्वजनिक ढंगले सबै उहाँले पनि भन्नु भएको छैन नि। भन्न पनि मिल्दैन उहाँजत्तिको मान्छेले।’
उनले थपे, ‘उहाँले पार्टीको प्रणाली बुझ्नु भएको छ। यो पार्टी बनाउमा उहाँको पनि ठूलो भूमिका छ।’
पार्टीमा फर्किन्छु भनेर पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा त्यागेपछि अब यो एमालेको मामिला भएको समेत भट्टराईको तर्क छ। ‘फर्किन्छु भनेर उहाँले सबै सेवा सुविधा त्यागेर आइसकेपछि अब यो पार्टीको मामिला हो,’ उनी भन्छन्, ‘पार्टीमा हामी छलफल गर्छौँ। उहाँ सक्रिय हुन आउनुहुन्छ भने उहाँलाई उचित स्थान पनि दिनुपर्ला।’
यसबारे अध्यक्षले विद्या भण्डारीसँगै छलफल गर्नुपर्ने धारणा समेत भट्टराईको छ। उनले भने, ‘यसबारे पार्टीको उच्च तहमा कुरा होस् भन्ने हाम्रो चाहाना छ। खासगरी अध्यक्षसँग छलफल होस् भन्ने हाम्रो चाहाना छ।’
अध्यक्षले पनि यसबारे आवश्यक परे छलफल गर्ने बताएको भट्टराईले जानकारी दिए। ‘अध्यक्षले आवश्यक परेमा पार्टीभित्र छलफल गरौैँ भन्नु भएको छ,’ उनले जानकारी दिए, ‘आजको बैठकमा भ्याइएन भने पनि कुन न कुनै बैठमा छलफल हुन्छ।’
Shares

प्रतिक्रिया