गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरू बढ्दै गएको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरूमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विपद्जन्य जोखिमलाई न्यूनीकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताए। उनले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्यूनीकरणमा लाग्न जरुरी रहेको बताए।
विपद् जोखिमलाई न्यूनीकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताए। पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको उनले बताए।
गृहमन्त्री लेखकले भने, ‘पर्यावरणीय असन्तुलनका कारण, मौसम परिवर्तनका कारण जुन विपद्का जोखिमलाई बढाउँदै लगेको छ। यो जोखिमलाई हामीले यदी न्यूनीकरण गर्न सकेनौँ, यसमा हामीले अत्यन्त गम्भीरतापूर्वक काम गर्न सकेनौँ भने नेपाल मात्रै होइन, यो संसार नै भोलिका दिनमा ठूलो विपद् आइलाग्ने स्थिति छ। हामी विपद्को अत्यन्त ठूलो जोखिमको भूगोलमा छौँ।’
गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताए।
Shares

प्रतिक्रिया