कोशी


मन्त्रीहरूले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रूपमा बजेट विनियोजन हुन सकेनः मुख्यमन्त्री कार्की

मन्त्रीहरूले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रूपमा बजेट विनियोजन हुन सकेनः मुख्यमन्त्री कार्की

नेपालखबर
साउन १, २०८२ बिहिबार १७:५९, विराटनगर

कोसी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ। कोसी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले साउन १ बाट पूर्वाधार कार्यालयहरू स्थापना गरिएको हो।

कोसीका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने  उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको बताए।

उनले भने, ‘प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउने र स्थानीयको प्राथमिकताको बोध गर्दै  सरकारको योजना अनुसार कार्यालय स्थापना गरिएको छ।’

उनले कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नु पर्ने कामहरू असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिए। अब जिल्ला जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको  प्रथा पनि अन्त्य हुने बताए।

‘मन्त्रीज्यूहरूले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रूपमा बजेटको विनियोजन हुन नसकेको गुनासो नागरिकको र जनप्रतिनिधिहरूबाट आएको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘अब यसलाई हटाउन  कार्यालयले जिल्लाको प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ।’

मुख्यमन्त्री कार्कीले सुनसरी जिल्ला आफ्नो गृह जिल्ला नभए पनि त्योभन्दा बढी लगानी गरेको दाबी गरे। प्रदेशकै ठूलो आयोजना कोसी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षबाट सञ्चालनमा आउने दाबी गर्दै कार्कीले त्यहाँ दुई वर्षभित्रमा अर्वौका संरचना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए।

उनले रामधुनी र कोसी टप्पुलाई पर्यटकीय आकर्षक गन्तव्यको रूपमा विकास गर्न प्रक्रिया अगाडी बढाएको जानकारी दिए। उनले दुहबी–इनरुवा सडकको यसै वर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने र कौवाखोच सडक निर्माणको लागि आवश्यक सहकार्यलाई तीव्रता दिएको बताए।

त्यस्तै भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गरेका छन्। त्यसै गरी साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ।

यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर नौ वटा मात्रै कार्यालय थिए। अब सबै जिल्लामा एउटा एउटा गरेर १४ वटा पूर्वाधार कार्यालय हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad