राजनीति


रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

नेपालखबर
साउन १, २०८२ बिहिबार १७:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ। 

रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो। 

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए। 

‘रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो’, उनले भने, ‘पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरुले रुचाएको र क्षमतावान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौँ।’ 

पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधै हाबी हुने स्पष्ट पार्नुभयो । रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउदै आएको छ। सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ।  

‘लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत,  समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अङ्कभार निर्धारण गरिएको छ’, प्रवक्ता झाले भने। पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad