वैशाख, २०८१ को सुरुवातमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘चलाखीपूर्ण कदम’ले एमालेको शीर्ष तहमा हलचल पैदा गरिसकेको थियो।
नेकपा स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मानित गर्दै थियो। खासमा भण्डारी ‘पूर्वराष्ट्रपति’ कै हैसियतमा रहून् भन्ने उद्देश्यका साथ एमालेले ‘गणतन्त्र गौरव’बाट उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो।
सायद त्यो ‘सम्मान’ आफूलाई सक्रिय राजनीतिमा आउन नदिने योजनाका रूपमा पनि भण्डारीले बुझिन् र कुनै छलफल र चर्चाविना नियमित रुपमा आफ्नो सदस्यता नवीकरण गराइहालिन्। भण्डारीले पार्टी सदस्यता नवीकरण गरेपछि शीर्ष नेतृत्वपंक्तिमा हलचल पैदा भयो। भलै सदस्यता नवीकरणको विषयलाई पार्टी संस्थापन र भण्डारी दुवै पक्षले गोप्य राख्न चाहे।
मदन भण्डारीको ७४ औँ जन्मदिवसका दिन पारेर भण्डारीले १४ असारमा सदस्यता नवीकरणको जानकारी सार्वजनिक र सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि भने एमालेभित्रको हलचल तल्लो तहससम्म विस्तार भइसकेको छ।
भण्डारीको आगमनले एमालेको आन्तरिक राजनीतिमा हलचल सिर्जना भएको त छ नै, उनी एमालेभित्र आफ्नो ‘स्पेस’ बनाउन योजनाबद्ध रूपमा लागेकी पनि छन्।
चलाखीपूर्वक सदस्यता नवीकरण
आफ्नो सचिवालयका एक सदस्यमार्फत् पूर्वराष्ट्रपति भण्डारीले निकै चलाखीपूर्वक आफ्नो सदस्यता नवीकरण गराएकी थिइन्। राष्ट्रपतिको जिम्मेवारीबाट हटेको एक वर्षपछि उनको सदस्यता नवीकरण गरिएको थियो।
जबकि एमाले पंक्तिले उनले सदस्यता नवीकरण गरेको जानकारी १४ असार (२०८२) मा मदनको जन्मदिवसको अवसरमा मात्रै प्राप्त गर्यो। करिब एक वर्ष उनले सदस्यता नवीकरण गरेको विषय गुपचुप रह्यो।
११ कार्तिक २०७२ मा राष्ट्रपति निर्वाचित भएपछि भण्डारी पार्टी राजनीतिबाट अलग भएकी थिइन्। पार्टी राजनीतिबाट अलग भएकाले उनको सदस्यता नवीकरण भएको थिएन।
राष्ट्रपतिको जिम्मेवारीबाट हटेको एक वर्षपछि भण्डारीको सचिवालयले लेखा शाखामा सदस्यताको शुल्क तिरेपछि उनको सदस्यता नवीकरण भएको थियो। राष्ट्रपति हुँदाको अवधिको समेत लेबी लेखा शाखामा तिरेको विवरण बुझाएपछि संगठन विभागले उनको सदस्यता नवीकरण गरिदिएको थियो।
स्रोतका भनाइमा, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सदस्यता नवीकरण भइसकेपछि मात्र यस विषयमा जानकारी प्राप्त गरेका थिए।
देश दौडाहा र पार्टी कार्यकर्तासँग भेटघाट
राष्ट्रपतिको जिम्मेवारी समाप्त भएपछि भण्डारी देशका विभिन्न जिल्ला पुगेकी छन्। त्यसमध्ये पुस (२०८१) पहिलो साता गण्डकी र जेठ (२०८२) तेस्रो साता कोसी प्रदेशको भ्रमण उल्लेखनीय रह्यो। त्यसले एमाले पंक्तिमा तरङ्गसमेत पैदा गर्यो।
त्रिभुवन विश्वविद्यालय र सिचुवान विश्वविद्यालय (चीन) अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका लागि २ पुसमा पोखरा पुगेकी भण्डारीले त्यहाँ करिब एक हप्ता बिताएकी थिइन्।
पोखरा बसाइका क्रममा उनी सीमा जोडिएको स्याङ्जा पनि पुगिन्। त्यसक्रममा कास्की–स्याङ्जाका सामाजिक व्यक्तित्वहरूसँग त भेटवार्ता गरिन् नै।
एमालेको गुटगत राजनीतिमा गण्डकी सुरुदेखि नै अध्यक्ष ओलीको पकड रहेको जिल्ला हो। तसर्थ, उनले पोखरा बसाइका क्रममा आफू सक्रिय राजनीतिमा आउने छनक दिइनन्। अध्यक्ष ओलीजस्तो आफू दिनरात खट्न नसक्ने बताएर संस्थापनपक्षीय नेता–कार्यकर्ताहरूको मन जित्ने प्रयास गरिन्।
तर, जेठ तेस्रो साताको उनको मोरङ–झापाको भ्रमण भने चर्चित रह्यो। त्यो भ्रमणले एमालेको आन्तरिक राजनीतिमा तरंगसमेत सिर्जना गर्यो।
पछिल्लो समय ओली पक्षलाई संस्थापन इतर पक्षका विनोद ढकालले चुनौती दिए। मोरङ जिल्ला कमिटी र मोरङ महानगर कमिटीमा संस्थापन पक्षीय प्यानललाई पराजित गर्दै ढकाल पक्षीय उम्मेदवारहरूले विजय हासिल गरेका थिए। ढकाल पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी निकट देखिन्छन्।
चीन भ्रमणबाट फर्केपछि भण्डारी फेरि आफ्नै गृहप्रदेश कोसी पुगिन्।
जिल्ला र महानगर दुवैमा संस्थापन पक्षीय उम्मेदवारहरूको पराजयले चर्चामा रहेको विराटनगरमा पाइला टेक्नेबित्तिकै भण्डारीले पत्रकारहरूसँग ‘एमालेका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने’ उल्लेख मात्र गरिनन्, ‘यसपटकको आफ्नो विराटनगर आगमन थप चर्चित हुने’ दाबीसमेत गरिन्।
भर्खर चीन भ्रमण सम्पन्न गरेर फर्केकी भण्डारी स्थानीय पालिकामा निर्वाचित महिला प्रमुख–उपप्रमुखहरूको सम्मेलनका लागि विराटनगर पुगेकी थिइन्। भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापासमेत पुगिन् र त्यहाँ आयोजित दुई कार्यक्रममा सहभागी भइन्।
‘एमाले पंक्तिलाई भेट्न आफूले कसैको अनुमति लिनुनपर्ने’ र ‘विराटनगर आगमनको चर्चा पहिलेभन्दा बढी हुनेछ’ भन्ने उनको भनाइ खासमा ‘पार्टी राजनीतिमा फर्कन आफूलाई कसैले अवरोध गर्न सक्दैन’ भन्ने चेतावनी पनि थियो।
मोरङ–झापाको त्यही भ्रमणपछि नै उनी अझ मुखर रूपमा राजनीतिमा सक्रिय हुन थालेकी हुन्।
मदन भण्डारी फाउन्डेसनमार्फत् जिल्ला पुग्ने योजना
एमाले नेतृत्वमा माधव नेपाल र झलनाथ खनाल हुँदा केपी शर्मा ओलीले आफ्नो संगठन विस्तारको माध्यम मदन भण्डारी फाउन्डेसनलाई बनाएका थिए। जतिबेला ओलीलाई पार्टीका जिल्लास्तरीय कार्यक्रममा जान वर्जित थियो, त्यो बेला एमाले नेता गोकुल बास्कोटाले काभ्रे लगेर ओलीलाई आफ्नो कुरा राख्ने मञ्च दिन्थे।
संकटका बेला ओलीलाई साथ दिएका पूर्वसञ्चारमन्त्री बास्कोटा पछिल्लो समय भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन सहयोग र उत्प्रेरित गर्नेमध्येमा पर्छन्। तिनै बास्कोटाले गत वर्ष १४ असार (२०८१) मा भण्डारीलाई नै काभ्रे लगेर उनकै प्रमुख आतिथ्यमा मदन भण्डारीको ७३ औँ जन्मदिवस मनाएका थिए।
आफू किनारामा पर्दा ओलीले राजनीतिक गतिविधि गर्ने माध्यम बनाएको फाउन्डेसनमार्फत् मदनको ७३ औँ जन्मदिवस काभ्रेमा मनाएर आफू कुन माध्यमबाट सक्रिय राजनीतिमा फर्किन चाहन्छिन् भन्ने कुराको सांकेतिक सन्देश भण्डारीले दिएकी थिइन्।
नभन्दै मदन भण्डारीको ७४ औँ जन्मदिवस पारेर राष्ट्रिय सभागृहमा १४ असारमा आयोजित कार्यक्रममा उनले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्।
यो कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई समेत सहभागी गराउनु र पार्टी सञ्चालनमा ओलीका मनमौजी गतिविधि र व्यवहारको आलोचना वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत् गराउन सक्नु भण्डारीको राजनीतिक सफलता थियो।
त्यसको दुई हप्तापछि ३१ असारमा मदन भण्डारीको हीरक (७५ औँ) जन्मदिवस मनाउन फाउन्डेसनले सबैजसो जिल्लाको प्रतिनिधित्व हुनेगरी ७५ सदस्यीय मूल व्यवस्थापन समिति निर्माण गरेको छ, जसको संयोजक बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल तोकिएका छन्। २०७४ को निर्वाचनपछि पौडेललाई बागमतीको मुख्यमन्त्री बनाउन भण्डारीकै भूमिका थियो।
जानकारहरूका भनाइमा यो समितिमा रहेका अधिकांश व्यक्तिहरू पूर्वराष्ट्रपति भण्डारी पक्षधर र एमाले नेतृत्वमा ओलीको निरन्तरताको विपक्षमा रहेकाहरू छन्। यसलाई जिल्लास्तरसम्म विस्तार गर्ने योजना बनाइएको छ।
मदन भण्डारी फाउन्डेसन गैरसरकारी प्रकृतिको संस्था भए पनि यसमा संलग्नहरू सबै एमाले राजनीतिमा आबद्ध छन्। साथै यसको संरचना जिल्लास्तरसम्मै छ।
सक्रिय राजनीतिमा फर्कने घोषणासँगै भण्डारीको अग्रसरतामा फाउन्डेसनमार्फत् मनाइने मदन भण्डारीको हीरक जयन्तीको बढी चर्चा हुनेछ र यो कार्यक्रमको माध्यमबाट भण्डारीलाई एमालेको जिल्ला तहसम्म पुग्न सघाउ पुग्नेछ।
‘विचार’मा पनि पनि हस्तक्षेप गर्ने योजना
मंगलबार (३१ असार) पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत ‘वेबसाइट’ सार्वजनिक गरियो।
वेबसाइटबारे जानकारी दिन उनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार पूर्वराष्ट्रपति भण्डारीका सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको हो।
भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनपछि संस्थापन पक्षीय एमाले नेता–कार्यकर्ताहरूले एमालेमा विचारको नेतृत्वकर्ता अध्यक्ष ओली र वैचारिक मामिलामा भण्डारी निकै कमजोर रहेको प्रचार गर्दै आएका छन्।
विचारको सन्दर्भमा पनि भण्डारी कमजोर छैनन् भन्ने सन्देश दिनेगरी यो बेवसाइट सार्वजनिक गरिएको देखिन्छ।
‘मूल्य, विचार र उद्देश्यबिनाको राजनीति केवल सत्ताको लोभ हो,’ वेबसाइटको सुरुवातमै भण्डारीको यो भनाइ राखिएको छ, जसले ‘पूर्वराष्ट्रपति भण्डारी उद्देश्य र मूल्य सहितको राजनीतिलाई अघि बढाउन चाहन्छिन्’ भन्ने उनको विचार प्रष्ट्याउन खोजेको छ।
भण्डारीको वेबसाइटमा रुसी क्रान्तिकारी महिला नेतृ नादेज्दा क्रूप्सकायाको ‘कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ’ भन्ने भनाइसमेत राखिएको छ।
‘वेबसाइट’ मार्फत् उनले आफ्ना सम्पर्क र गतिविधिलाई अझ फराकिलो दायरामा विस्तार गर्न खोजेकी छन्।
भलै उनी अहिले एमालेको साधारण सदस्यको हैसियतमा मात्र छिन्। तर, शान्तरूपमा भण्डारीले एमालेभित्र आफ्नो ‘स्पेस’ बढाउँदै लगेकी छन्, जसबाट अध्यक्ष ओलीको विकल्पका रूपमा एमालेभित्र उनले आफूलाई उभ्याउन खोजेकी छन्।
Shares

प्रतिक्रिया