राजनीति


एक वर्षमा विकास निर्माण र विपद् व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको रक्षामन्त्रीको दाबी

एक वर्षमा विकास निर्माण र विपद् व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको रक्षामन्त्रीको दाबी

नेपालखबर
असार ३२, २०८२ बुधबार २०:९, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन्। 

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन भएका कार्यको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले थुप्रै अप्ठयारा र चुनौतीका बाबजुद पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।

मन्त्री राईले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा उल्लेख्य प्रगति भएको जनाउँदै आफ्नो सक्दो प्रयास र प्रयत्नबाट ती आयोजनामा रफ्तारमा काम गर्न सकिएको बताए। उनले काठमाडौँ–तराई/मधेस द्रूतमार्ग, महाकाली कोरिडोर, कोशी कोरिडोरलगायत आयोजनामा महत्त्वपूर्ण सफलता हासिल भएको स्पष्ट पारे।

त्यसक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोजकुमार आचार्यले मन्त्री राईले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएका मुख्यमुख्य कार्यको प्रगति विवरणबारे प्रस्तुति दिएका थिए।

रक्षा मन्त्रालयका लागि चालु आवमा विनियोजित बजेटमध्ये चालुतर्फ ९९ दशमलव ५८ प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव ७१ प्रतिशत खर्च भएको तथा मन्त्रालय र मातहतको निकायका बेरुजुमध्ये ६१ दशमलव ३७ प्रतिशत फछर्योट गरिएको सो अवसरमा जानकारी दिइयो। 

असार मसान्तसम्म काठमाडौँ–तराईरमधेस द्रूतमार्गको भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ। 

आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ। 

आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन्।

ललितपुरको खोकना इलाकामा दु्रतमार्गको सुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपश्चात खरिद प्रक्रिया सुरू गर्ने तयारी छ। 

यही अवधिमा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिएको छ। यही असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवस्थापनमा खार्पुनाथस्थित चुवा खोलामा निर्माण भएको ८०० मिटर लम्बाइको ‘बेलिब्रिज’ उद्घाटन गरेका थिए। 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकमा प्रशासनिक भवन, विद्यार्थी आवास भवनलगायत भौतिक संरचना निर्माणअन्तर्गत करिब ७६ दशमलव ५८ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। बङ्करदेखि ब्यारेक कार्यक्रमअन्तर्गत ७३ वटा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। 

एक वर्षको अवधिमा विपद्बाट प्रभावित नौ सय ८९ जनाको उद्धार, ९८ वटा शव झिक्ने, ३२ स्थानमा पहिरो हटाउने, ३४ स्थानमा अवरुद्ध सडक सञ्चालन, चार स्थानमा तटबन्ध निर्माण, छ स्थानमा अस्थायी पुल निर्माण र विभिन्न चार स्थानमा बेलिब्रिज जडान गरिएको छ। 

गत चैत १५ गते म्यानमारमा गएको भूकम्पपछि मानवीय सहायतास्वरूप भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्योपचार सेवाका लागि सेनाको मेडिकल टोली खटिइएको र सो टोलीले एक हजार तीन सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा पाँच सय ६८ महिलासहित पाँच हजार आठ सय ८८ शान्ति सैनिक खटिइएका र शान्ति स्थापनार्थ फौज योगदान गर्ने मुलुकमा नेपाल पहिलो स्थानमा रहेको छ। हालसम्म नेपालबाट कुल एक लाख ५९ हजार पाँच सय ४३ फौज शान्ति स्थापनार्थ खटिइएका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad