राजनीति


मन्त्रिपरिषद्‍मा थप हेरफेरको गृहकार्यमा ओली

मन्त्रिपरिषद्‍मा थप हेरफेरको गृहकार्यमा ओली

नेपालखबर
असार ३२, २०८२ बुधबार ०:९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले हालका केही मन्त्री हटाएर नयाँ ल्याउने गृहकार्य गरिरहेको उनीनिकट नेताहरूले बताएका छन्।

हाल मन्त्रिपरिषद्मा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीहरू सामेल छन्।

घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि मंगलबार नै एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिसकेका छन्।

बालुवाटारसँगै निकट रहेका एक नेताले नेपालखबरलाई बताएअनुसार जसपाका नवलकिशोर साह सुडीलाई हटाउन लागिएको छ। उनको ठाउँमा पठाउने नामबारे टुंगो लागिसकेको छैन। उक्त पार्टीबाट रञ्जु झा मन्त्री बन्ने कसरतमा छिन्। जसपाले दुई महिना अगाडि नै पार्टीबाट पठाएका दुई जना मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको ती नेता बताउँछन्।

‘बुधबार नै पनि केही मन्त्री हेरफेर हुन सक्छन्। प्रधानमन्त्री तयारीमा हुनुहुन्छ,’  ती नेताले भने, ‘सम्भवतः बुधबार ३ बजे भगवती न्यौपानेसँगै थप केही मन्त्रीको शपथ होला।’

ओली प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पुगेको छ। तर, मन्त्रिपरिषदमा रहेका केही विवादित बन्दै गएको र केहीको कार्यसम्पादन पनि निकै कमजोर रहेको कारण हेरफेर गर्ने निष्कर्षमा ओली पुगेको ती नेताको भनाइ छ। 

कांग्रेस र एमाले नेतृत्व यस विषयमा छुट्टाछुट्टै परामर्शमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताको भनाइ छ।

‘प्रधानमन्त्रीले सरप्राइज दिने गर्नु भएको छ, उहाँले भित्रभित्रै तयारी गरिसक्नुभएको पनि होला,’  ओलीनिकट अर्का नेताले भने।

त्यसो त जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कांग्रेस र एमाले नेतृत्वले छलफल गरेको छ। सोमबार राति पनि त्रिपक्षीय छलफल भएको थियो। जसपा नेपाललाई सरकारमा भित्र्याएर राष्ट्रिय सभामा सत्तापक्षको बहुमत पुर्‍याउने र भूमि विधेयक सहज रुपमा पारित गर्ने प्रयास प्रधानमन्त्रीले गरिरहेका छन्। 

त्यसो त वर्ष दिन पुगेको कारण एकाधबाहेक सबै मन्त्रीको सेट नै फेर्नुपर्ने भन्दै कांग्रेस र एमाले दुवै प्रमुख सत्ता साझेदारभित्र नेताहरूको दौडधुप पनि चलिरहेको छ। तर यस विषयमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई हरियो बत्ती देखाइ नसकेको स्रोतको भनाइ छ।

खासगरी ओलीले हटाउन चाहेका कांग्रेस मन्त्रीहरूका हकमा देउवाले सहमति जनाइसकेका छैनन्। त्यसैले बुधबारसम्म जति सकिन्छ, सम्बन्धित दलसँगको सहमतिमा ओली मन्त्री हेरफेर गर्ने गृहकार्यमा रहेको उनीनिकट नेताको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad