एमाले सांसद राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्ति पाएको र यसबाट राजीनामा दिएको गते एउटै परेको छ।
अर्थात् २०८१ असार ३१ गते मन्त्रीमा नियुक्त उनले त्यसको ठ्याक्कै १ वर्षपछि आज २०८२ असार ३१ गते नै पदबाट राजीनामा दिएका हुन्।
मन्त्रीले आफू पदमा पुगेको वर्षदिनमा समीक्षा सार्वजनिक गर्ने चलन छ तर गुप्ताले त्यही दिन मन्त्री पदबाटै राजीनामा दिनुपरेको हो।
७८ लाख घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको थियो। आफ्नै पार्टी एमालेका सांसदले समेत संसद्बाटै राजीनामा मागेपछि तनावमा परेका गुप्ताले आज मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा राजीनामा पत्र बुझाएका हुन्।
सार्वजनिक अडिओमा तत्कालीन मन्त्री गुप्ताले २०८१ पुस अन्तिमतिर कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको कुराकानी छ।
त्यसो त गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।
यसपछि चौतर्फी आलोचना र दबाब खेपिरहेका गुप्ताले आज मन्त्री पदबाट राजीनामा दिएका हुन्।
राजीनामा लिएर मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका गुप्ताले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन्। ओली बालुवाटारभित्रै अन्य कार्यक्रममा व्यस्त रहेकाले फोनमार्फत जानकारी गराई उनको सचिवालयमा राजीनामा पत्र बुझाएर फर्केको एमाले नेताले गुप्ताले बताएका छन्।
Shares

प्रतिक्रिया