'राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदीले पहिलेको पद खोजेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा हलचल मच्चिएको छ।
राजावादी आन्दोलनको नेतृत्व गर्ने बेला सार्वजनिक रूपमा राप्रपा त्यागेको घोषणा गरेका सुवेदी पार्टीको अनुशासन समितिको संयोजक पद माग गर्दै आइतबार निर्वाचन आयोग गुहार्न पुगेपछि विवाद सिर्जना भएको हो।
सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधानविपरीत अनुशासन समितिको संयोजकबाट बर्खास्त गरेको आरोप लगाउँदै यसलाई बदर गर्न निर्वाचन आयोगमा उजुरी दिएका छन्।
तर अध्यक्ष लिङ्देन पक्षका राप्रपा नेताहरूले भने सुवेदी आफैँले पार्टी छाडेको घोषणा गरेको कुरालाई जोडतोडका साथ उठाइरहेका छन्।
यसै क्रममा राप्रपाका केन्द्रीय सदस्य खुस्बु ओलीले सुवेदीले अनुशासन समितिको संयोजक पद छाडेपछि अध्यक्ष लिङ्देनले रोशन कार्कीलाई नियुक्ति गरेकाले विधानबमोजिम नै रहेको जिकिर गरेकी छन्।
'प्रथमत: राजावादी आन्दोलनको नेतृत्व गर्नासाथ श्रद्धेय नेता नवराज सुवेदीले स्वत: आफू राप्रपाको कुनै पनि पदमा नरहेको र साधारण सदस्य नरहेको सार्वजनिक घोषणा गर्नुभएको हो। योसँगै उहाँले सम्हालेको अनुशासन विभाग नेतृत्वविहिन हुन पुग्यो। त्यही रिक्त पदमा अध्यक्षले पार्टीको विधानअनुसार कार्कीलाई नियुक्त गर्नुभएको हो', ओलीले आइतबार विज्ञप्ति जारी गरी भनेकी छन्, 'विधानको दफा ४९ मा स्पष्ट रूपमा कुनै पनि तहको कार्यसमितिको सदस्यको पदावधि बाँकी छँदै पद रिक्त भएमा मनोनीतको हकमा मनोनयनद्वारा र निर्वाचितको हकमा सहवरणद्वारा बाँकी अवधिको लागि पूर्ति गरिनेछ भन्ने उल्लेख गरिएको छ। अब आफैँले राप्रपाको सबै पद त्यागेको घोषणा गरेको नेताले फेरि त्यही पद कसरी दाबी गर्न मिल्छ?'
Shares

प्रतिक्रिया