पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ भनेर विज्ञप्तिमा लेखेको विषयमा उनका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेपछि राजावादीहरूको ध्यानाकर्षण भएको छ।
शुक्रबार बिहान पक्राउ गरिएका पाठकलाई आइन्दा शाहलाई ‘श्री ५’ नलेख्ने सर्तमा कागज गराएर काठमाडौँ जिल्ला प्रहरी परिसरले त्यही राति पौने ८ बजे रिहा गरिसकेको छ।
तर राजावादीहरू भने श्री ५ लेख्न पाउनुपर्ने जिकिर गरिरहेका छन्।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषय संविधान र कानुनसँग नभई आस्थासँग सम्बन्धित भएको तर्क गरेका छन्।
आफू पनि पूर्वराजा शाहलाई त्यही रूपमा सम्मान गर्ने उनले उल्लेख गरेका छन्।
लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन। नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रूपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रूपमा सम्मान गर्छु। राजा ज्ञानेन्द्रलाई श्री ५ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।’
Shares

प्रतिक्रिया