राजनीति


निजामती विधेयक तोडमोड प्रकरण: छानबिन समिति गठनका लागि सभामुखले थाले छलफल

निजामती विधेयक तोडमोड प्रकरण: छानबिन समिति गठनका लागि सभामुखले थाले छलफल

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:१, काठमाडौँ

‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।  

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्। छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन्। 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन्। उनले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरे। 

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न उपयुक्त हुने भन्दै  विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताएका थिए।

तीन वटै प्रमुख दलका नेताहरूले आ-आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन्। आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठकअगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad