सर्वोच्च अदालतमा प्रस्तावित ३ न्यायाधीश र एक जना न्याय परिषद् सदस्यविरुद्ध ७ वटा उजुरी परेका छन्।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल उपर ७ जनाले उजुरी परेको जानकारी दिइन्।
न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ उजुरी र अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन्।
७ जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताइन्। त्यस्तै १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको उनले बताइन्।
‘१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ,’ न्यौपानेले भनिन्,‘त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ।’
प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सदस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरुलाई वितरण समेत गरिएको छ।
Shares

प्रतिक्रिया