नेकपा एमाले केन्द्रीय सचिवालयको ५३औं बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो।
बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको विधान महाधिवेशन, सरकारको कामकाज, तथा आगामी कार्ययोजनाहरूलाई केन्द्रमा राख्दै विभिन्न निर्णयहरू गरेको छ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले मुलुकको बदलिंदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए। बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ।
विधान महाधिवेशन र जिम्मेवारी विभाजन
बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको छ।
महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पार्ने र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले तय गर्ने गरी जिम्मेवारी तोकिएको छ।
यी दस्तावेजहरू आगामी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ। यसै सन्दर्भमा पोलिटब्युरो बैठक साउन २ गते र केन्द्रीय कमिटी बैठक साउन ५ गते आह्वान गरिएको छ।
नवीकरण, निलम्बन फुकुवा र सदस्यता अद्यावधिक
साथै, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उपाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय पनि गरेको छ ।
पाँच महत्त्वपूर्ण प्रस्ताव पारित
बैठकले बर्तमान सन्दर्भमा निम्न पाँच महत्वपूर्ण प्रस्तावहरु पारित पनि गरेको छ।
१. इरान–इजरायल युद्धबारे चिन्ता
बैठकले दुईसाता लामो युद्धले खाडी क्षेत्रको स्थायित्वमा गम्भीर असर पारेको भन्दै युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न दुवै पक्षलाई आह्वान गरेको छ । खाडी क्षेत्र र इजरायलमा कार्यरत १७ लाखभन्दा बढी नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई प्रभावकारी कूटनीतिक पहल गर्न सुझाव समेत दिएको छ ।
२. भिजिट भिसा दुरुपयोगप्रति अध्ययन समिति
बैठकले सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई सकारात्मक कदम भन्दै संसदमा भइरहेको अनावश्यक अवरोध र बहिष्कारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। संसदको गरिमा कायम राख्न बैठकले आग्रह गरेको छ ।
३. दैलेख मिथेन ग्यास र धौवादी फलाम खानी परियोजना
बैठकले ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास भेटिएको प्रारम्भिक रिपोर्टले देशलाई ऊर्जा आत्मनिर्भर बनाउने सम्भावनाको सन्देश दिएको भन्दै दुवै परियोजनालाई तीव्रगतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
४. राजमार्गहरूमा बाढीपहिरोको जोखिमप्रति सतर्कता
बैठकले बर्खायामसँगै पूर्व–पश्चिम र बीपी राजमार्गलगायतका सडकहरूमा पहिरो तथा बाढीका कारण भइरहेको अवरोधलाई हटाउन सरकारलाई अपिल समेत गरेको छ । पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सक्रिय हुन पनि आग्रह गरेको छ ।
५. श्रद्धाञ्जली र समवेदना
बैठकले पार्टी सल्लाहकार परिषद् सदस्य गणेश पौडेल र स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी जीवनसंगिनी विमला महतको निधनप्रति सचिवालयले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ।
Shares

प्रतिक्रिया