राजनीति


बुवाको नाममा धेरै बजेट छुट्याएको भन्ने आरोपबारे सहरी विकासमन्त्रीको यस्तो स्पष्टीकरण

बुवाको नाममा धेरै बजेट छुट्याएको भन्ने आरोपबारे सहरी विकासमन्त्रीको यस्तो स्पष्टीकरण

नेपालखबर
असार १०, २०८२ मंगलबार १६:३०, काठमाडौँ

सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुबा गणेशमान सिंहको नाममा अत्यधिक बजेट छुट्याएको भन्ने आरोपको खण्डन गरेका छन्। 

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले उक्त बजेट गणेशमान सिंह लगायत लोकतन्त्रका लागि जीवन समर्पण गर्ने महामानवहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्न बिनियोजन गरिएको स्पष्ट पारे।

‘राणा र शाहको शासनकालमा यी स्वनामधन्यहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो,’ मन्त्री सिंहले भने, ‘लोकतन्त्रको पुर्नस्थापनापछि मात्रै राष्ट्रले उहाँहरूलाई सम्मान गर्न पाएको हो।’

उनले बीपी कोइराला, गणेशमान सिंह, पुष्पला श्रेष्ठ, मनमोहन अधिकारी, र मदनकुमार भण्डारीजस्ता व्यक्तित्वहरूको योगदान राष्ट्रले कहिल्यै विस्मृत गर्न नसक्ने बताए। 

मन्त्री सिंहले राज्यले विगतदेखि नै यस्ता ऐतिहासिक व्यक्तिहरूको स्मृतिमा विकास कार्यक्रम सञ्चालन गर्दै आएको र यसपालिको बजेट पनि सोही उद्देश्यले बिनियोजन गरिएको उल्लेख गरे।

‘नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति द्वेष हुनु हुँदैन,’ सिंहले भने।

सिंहको भनाइ यस्तो छः

माननीयहरुबाट गणेशमान सिंहको नाममा धेरै रकम विनियोजन भएको भन्ने सन्दर्भमा उठाएका जिज्ञासाको विषयमा राणाहरुको जहाँनीय शासनको मध्ययुगिन शामान्ती पीजडामा थुनिएका नेपालीलाई जनतालाई स्वतन्त्र, सर्वाभौम बनाउन लामो संघर्षमा स्वनामधन्य सपुतहरू बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारीको योदानको सम्बन्धमा मैले यहाँ बताइ रहनु पर्दैन। 

राणा र शाहको शासन कालमा यी स्वनामधन्यको नाम लिनु पनि अपराध ठहरिन्थ्यो। लोकतन्त्रको पुर्नस्थापनापछि मात्रै राष्ट्रले उहाँहरुको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो।

देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता ज्ञापन गर्न विगतदेखि नै राज्यले उहाँहरुको नाममा केही विकास कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि स्वनामधन्य महामानवप्रति कृतज्ञतास्वरुप केही योजनामा बजेट विनियोजन गरिएको हो।

नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहाने कसैलाई पनि लोकतन्त्रका नायकहरुको नामप्रति पक्कै द्वेष नहोला। उहाँहरुको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न त सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad