आगामी आर्थिक वर्षको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूले विमती राखिरहेका छन्। आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटमाथि चर्को असन्तोष र आक्रोश व्यक्त गरे।
गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाए। उहाँले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा टरिगाउँ विमानस्थललाई बेवास्ता गरेको बताए।
उनले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप भन्दै प्रधानमन्त्रीले समेत पटक-पटक संसदमा टरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजे हो? भन्दै प्रश्न गरे।
उनले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गरेका हुन्।
‘बडो खुसीका साथ कुरा राखौंला भन्ने २०८२/८३ मा आशा थियो। यहाँ केही मन्त्रालयको विनियोजन शिर्षकमा छलफल गर्दा बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो। यो बजेटले नेपाली जनतालाई पनि देखेन । न त यो विकासमैत्री भयो, न लगानी मैत्री भयो न त सरकारपछि सांसदमैत्री भयो। यो केबल भयो सत्ताधारीमैत्री, जो जो मन्त्रीजीहरू हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ त्यही मैत्री भयो,' उनले भने, 'बडो कटुताकासाथ भन्नुपर्छ– जसरी मैले भने कि यो न सांसदमैत्री भयो, न जनतामैत्री भयो, न विकासमैत्री भयो। १२ वटा विकासका बजेट जो तीन तीन करोडमा आधारित थियो त्यो बजेट झापाको एउटै क्षेत्रमा छ त्यो म पढेर सुनाउँछु । ११ वटा एउटै क्षेत्रमा धिमाल जातीय होमस्टे प्रबद्र्धन तथा संरक्षण निर्माण । अर्को निर्माण छ, किरियापुत्री भवन दमक, समाज सुधार प्रतिष्ठान झापा, आदिवासी संग्रहालय गौरादह झापा, पार्क निर्माण गौरादह झापा यो सबै झापै झापा त्यो पनि एउटै क्षेत्रमा । सभामुख महोदयलाई पनि माया गरेका रहेछन् २५ लाखको एउटा छ।'
उनले बजेटमा चित्त बुझाउने अवस्था नहुँदा पनि सरकार पक्षीय सांसदको रुपमा बोल्नु परेको भन्दै आपत्ति जनाए। 'यसमा बजेट दिँदा कतिवटा क्षेत्र थियो-१६५ त हो। मैले पटक पटक यहाँ सम्बोधन गर्दा भनेको थिएँ- हामीलाई धेरै ठूलो इच्छा आकांक्षा पनि होइन हाम्रो इज्जत राखिदिनुस्, हाम्रो साख बचाइदिनुस्,' उनले थपे, 'यही ठाउँमा केही प्रश्नहरु गर्दा कहिले काहिँ भन्न मन लाग्छ टरिगाउँ एयरपोर्ट, बडो चर्चाको विषय भयो संसद्भित्र। यहीँबाट प्रधानमन्त्रीले पनि टरिगाउँ एयरपोर्ट बन्छ भन्नुभयो, मैले पनि ताली बजाएँ। तर, यो रातो किताबमा टरिगाउँ एयरपोर्टलाई जग्गा अधिकरणका लागि करिब ७० देखि ९० करोड लाग्छ अहिले केही गर्नुस् भनेँ । मलाई आशा लागेको थियो, विश्वास थियो त्यो क्रान्तिकारी केपी ओलीसँग, मलाई विश्वास थियो विष्णु पौडेलसँग र मलाई विश्वास थियो युवा नेता बद्री पाण्डे मन्त्रीसँग। त्यही विश्वासका आधारमा मैले दंगाली जनतालाई भनेको थिए चरिगाउँ एयरपोर्ट बन्छ भनेर। अब मैले उहाँहरुलाई अभिनन्दन गरुँ, माला पहिराउँ अथवा के बोलुँ? टरिगाउँ जग्गा अधिकरणका लागि एक करोड यो हास्यास्पद हो कि? जनताको प्रतिनिधिलाई नंग्याउन खोजेको हो कि? के हो यो?’
Shares

प्रतिक्रिया