राजनीति


विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

नेपालखबर
असार ५, २०८२ बिहिबार २१:३९, काठमाडौँ

विकास आर्थिक मामिला तथा सुशासन समितिकोे दिगो विकास उपसमितिले तयार पारेको ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ राष्ट्रिय सभामा पेस भएको छ। 

गत फागुनमा उपसमितिले मुल समितिलाई उक्त प्रतिवेदन बुझाएको थियो।  सोही प्रतिवेदन आज राष्ट्रिय सभामा पेस भएको हो। 

राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य संयोजक रहेको दिगो विकास उपसमितिले यो प्रतिवेदन मुल समितिलाई बुझाएको थियो। समितिका सभापति कमलादेवी पन्तले आज प्रतिवेदन पेस गरेको हुन्।

‘उपसमितिका संयोजक र सबै माननीयज्यूहरुले मेहनतका साथ पटक–पटक विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र नीजि क्षेत्रसँग छलफल गरेर तयार पारेको यो प्रतिवेदन गहकिलो दस्तावेज बनेको छ’, पन्तले प्रतिवेदन पेस गरेपछि भनिन्,’  ‘यो दस्तावेज सरकारलाई मार्ग निर्देशन दिन सहयोगी बन्ने छ।’ 

उपसमितिको सदस्यहरुमा सांसदहरु बामदेव गौतम, जितजंग बस्नेत, भुवन बहादुर सुनार र साबित्री मल्ल रहेक थिए। उक्त समितिले यो प्रतिवेदन लामो समयको छलफल र अध्ययनबाट तयार पारेको समितिका संयोजक डाक्टर शाक्यले जानकारी दिइन्।  

उक्त प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पररापष्ट्र मन्त्रालय, अर्थमन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त टे«ड युनियन महासंघ, नीजि क्षेत्रलगायत सरोकारवाला निकायसँग ६ ओटा बैठक बसेर छलफल गरेको डाक्टर शाक्यले जानकारी दिइन्। ‘उपसमितिले निकै ठूलो मेहनतका साथ यो प्रतिवेदन तयार पारेको हो,’ शाक्यले भन्नुभयो, ‘आज राष्ट्रिय सभामा पेश भएको छ खुशी छौँ।’

नेपालले सन् २०१० देखि नैं आवधिक योजना, बजेट तथा कार्यक्रमहरुमार्फत स्तरोन्नतिका प्रयासहरु गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन।

प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकका सर्शहरु पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापि मान्यता छ।

यी शर्तहरुमध्ये संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन।

‘तीन शर्त मध्ये कुनै दुईवटा मापदण्ड मात्र पूरा भए पनि स्तरोन्नतिको लागि योग्यता पुग्ने भएकोले प्रतिव्यक्ति कूल राष्ट्रिय आयको मापदण्ड पूरा नभए पनि दुईवटा सूचक पूरा गरी नेपाल सन् २०२६ नोभेम्बर २४ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्र हुने लक्ष्य प्राप्तिको दिशातर्फ अगाडि बढिरहेको छ’, शाक्यले भनिन्,’ ‘संयुक्त राष्ट्र संघबाट हरेक तीन वर्षमा हुने मूल्याङ्कनमा लगातार दुईपटक स्तरोन्नतिका लागि योग्य भएपछि मुलुक स्तरोन्नति हुन सक्छ। सन् २०१५ र २०१८ मा नेपालले दुईवटा सूचकको मापदण्ड पूरा गरेकोले स्तरोन्नतिको लागि योग्यता पुगेको थियो।’

तत्कालीन अवस्थामा भूकम्प पछिको पुनर्निर्माणबाट तंग्रिदै गरेको आर्थिक अवस्था र संविधान जारी हुने समय भएका कारण त्यसबाट नेपाल पछि हटेको थियो।

सन् २०१८ मा स्तरोन्नति हुने निर्णय लिँदा तयारीका लागि तीन वर्षको समय सीमा भए पनि उक्त समय छोटो भएकोले सन् २०२१ मा स्तरोन्नति गर्ने निर्णय भएको थियो। त्यतिबेला पनि कोभिड–१९ को प्रभावले गर्दा नेपाल, बंगलादेश र लाओसले पाँच वर्षको संक्रमण समय पाएका छन्। यो अवस्थामा अब नेपालले सन् २०२६ मा स्तरोन्नति हुनै पर्ने अवस्था छ। 

‘स्तरोन्नतिपछि दिगोपना कायम गर्न जिम्मेवार सरकारी संयन्त्र एवं निजी क्षेत्रबीच पारस्परिक समन्वय, बुझाइ र अपनत्व, स्रोतको उपलब्धता, कानुनी एवं नीतिगत स्पष्टता र तयारीको अवस्था के–छ भन्ने विषयमा संसदीय अध्ययन तथा मूल्यांकन आवश्यक भएकोले यो प्रतिवेदनमा यी कुरालाई पनि ख्याल गरेका छौँ’, उनले भनिन्,’ ‘नेपालको प्रतिव्यक्ति आय वृद्धि गर्न बृहत आर्थिक स्थिरता र वित्तीय दिगोपना कायम गर्नुपर्ने, अन्तराष्ट्रिय व्यापारको पूर्वाधार प्रवद्र्धन गर्दै उत्पादनशील क्षेत्रमा आर्थिक वृद्धि गर्नुपर्ने, आर्थिक रूपान्तरणको प्रवद्र्धन गर्दै आर्थिक लाभको दिगोपनाबाट आर्थिक अभिवृद्धि गर्नुपर्ने, उत्पादनशील मानव पूँजीको वृद्धि र दिगोपनाको लागि सामाजिक क्षेत्रको सबलीकरण गर्नुपर्ने, भविष्यमा पर्न सक्ने आर्थिक तथा वित्तीय जोखिम व्यवस्थापनमा दिगोपना मापन गर्दै आर्थिक तथा वातावरणीय क्षेत्रको थप सुधार गर्नुपर्ने जस्ता कुराहरु हामीले यो प्रतिवेनको रणनीतिक उदेश्यमा समावेश गरेका छौँ।’

प्रतिवेदनमा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालको छवि, इज्जत एवं प्रतिष्ठा बढ्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा विकासशील राष्ट्रको रुपमा दर्ज हुने, लगानीको लागि थप वातावरण तयार हुने, नेपालका दिर्घकालीन विकासका सोंचहरु, दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकार गैरसरकारी संस्था, निजी क्षेत्र लगायत विकास साझेदारबीच थप समन्वय सुदृढ हुने प्रतिवदेनमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad