नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका दुई शीर्ष नेता र पार्टीबाटै सरकारमा रहेका तीन मन्त्री लिएर प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका छन्।
बुधबार साँझ पार्टी देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका हुन्।
छलफलमा एमालेका तर्फबाट ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।
'सदनको कामकारबाही, सरकारको कामकारबाही र समसामयिक विषयमा कुराकानी भयो,' खड्काले नेपालखबरसँग भने।
त्यस्तै छलफलमा सहभागी गृहमन्त्रीले रमेश लेखक पनि सदनको कामकारबाहीकै विषयमा आजको छलफल केन्द्रित भएको बताए। उनले नेपालखबरसँग भने, 'सदन र सरकारको कामकारबाही अघि बढाउनेमै छलफल केन्द्रित भयो। विधेयकहरू पनि अघि बढाउने कुरामा छलफल भयो।'
त्यस्तै छलफलमा सहभागी अर्का एक नेताका अनुसार निजामती विधेयकको विषयमा पनि कुरा भएको थियो।
'निजामती विधेयकमा कुलिङ पिरियडमा नेताहरूबीच केही कुरा मिलेको छैन। दुई वर्ष राख्ने कि कति राख्ने भन्नेबारे अझै निर्णय त भएको छैन तर उता समितिले सर्वसम्मत गरेर पठाइसकेको कुरा पनि छ,' ती नेताले भने।
त्यस्तै, छलफलमा सहभागी मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले इरान र इजरायलको द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धार र सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए।
गत जेठ २ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा निजामती कर्मचारी वा अरू सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा बस्न नपाउने प्रावधान पारित गरेको थियो। यो प्रतिनिधिसभामा दर्ता भइसकेको छ।
मंगलबार उक्त विधेयक छलफल गरेर पारित गर्ने भनी कार्यसूचीमा समेत चढाइएको थियो तर बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। अब प्रतिनिधिसभा बैठक भोलि बिहीबार बस्दैछ।
राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले कर्मचारीको कुलिङ पिरियड राख्ने निर्णय गरेलगत्तै कर्मचारीले त्यसलाई रोक्न सकेसम्मको प्रयास गरेका थिए। अझै पनि मुख्य सचिव एकनारायण अर्यालसहितको टोलीले प्रयास जारी राखिरहेकै छ।
मुख्यसचिव-सचिव हुल बाँधेर सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष पुगेर रोक्न आग्रह गरेका थिए।
निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको २ वर्षे ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान हटाउन मुख्यसचिव अर्यालसहित २२ जनाभन्दा धेरै सचिव जेठ ८ गतेदेखि नै सक्रिय छन्।
कर्मचारीहरू अवकाशलगत्तै सरकारी कुनै सेवामा सेवा गर्न पाउनुपर्छ भन्ने पक्षमा छन्। तर अहिले २ वर्षे कुलिङ पिरियडसहितको प्रावधान राखिएको छ।
यसबारे सत्तारुढ दुई दलबीच पनि विवाद छ। कांग्रेस दुई वर्षे कुलिङ पिरियडको पक्षमा छ भने एमाले एक वर्षमात्रै राख्नपर्ने पक्षमा छ।
अब निजामती विधेयक रोक्न खोजिएको हो त भन्ने प्रश्नमा गृहमन्त्री लेखकले भने, 'छलफल गर्दै जाने, विधेयक पनि अघि बढाउनेबारे कुरा भयो।'
Shares

प्रतिक्रिया