प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ।
उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पनि बैठक सुरु हुन सकेन। बैठक ४:३० बजेका लागि सरेको थियो। त्यसपछि बैठक बस्दै नबसी पर्सिसम्मलाई सरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै आइरहेका छन्।
उनीहरूले जेठ १३ गतेदेखि यता लगातार यही विषयमा सदनमा विरोध गर्दै आइरहेका छन्। गत बिहीबारसम्म प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सोही माग राख्दै आएको थियो तर शुक्रबार माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै सदन सञ्चालनमा अवरोध बन्द गरेको थियो।
यसमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएका थिए।
सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार भोलि बुधबार दलहरूलाई सहमतिका लागि तयारी गर्न समय दिइएको हो।
Shares

प्रतिक्रिया