राजनीति


संसद्को अवरोध हटाउने विषयमा सभामुख घिमिरे र रास्वपाका नेताबीच छलफल

संसद्को अवरोध हटाउने विषयमा सभामुख घिमिरे र रास्वपाका नेताबीच छलफल

नेपालखबर
असार २, २०८२ सोमबार ११:१०, काठमाडौँ

सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबीच सोमबार बिहान छलफल भएको छ। 

सभामुखको सरकारी निवास बालुवाटारमा भएको छलफलमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी थिए। 

सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको भन्दै बजेटबारे ब्यापक छलफल गर्न संसद् सहज ढंगले सञ्चालनको लागि अर्याल र परियारलाई आग्रह गरेका छन्।  

उनले भने, ‘बजेटमाथि छलफल गर्ने बेलामा संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ। विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन। संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्छ।’

राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको पनि उनले रास्वपाका नताहरुलाई सम्झाएका घिमिरेको सचिवालयले जनाएको छ। ‘यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ। तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदल्नुपर्छ। बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु। गम्भीर भएर छलफल गरौँ,’ घिमिरेले भने। 

सभामुखको आग्रहमा रास्वपाका नेताहरुले विपक्षीले उठाएका माग गम्भीर रहे पनि सत्तापक्ष गम्भीर नभएको बताए। 

‘हामीले जनताको वास्वविक समस्या उठाएका छौँ। हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अबरोध बाध्यात्मक भएको हो। अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ। तथापि अहिलेको समस्याका निकासका लागि छलफल र संवादमै छौँ,’ उपसभापति अर्यालले भने। 

सभामुख र रास्वपाका नेताबीच झण्डै एक घण्टा छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्एिको रास्वपाका नेताहरुले बताएका छन्। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन्। 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले २ बुँदे सहमती गरेर संसद् सञ्चालनमा सहमती जनाए पनि रास्वपा र राप्रपा अहिले पनि बिरोधमै छन्। उनीहरुले नाराबाजी गरिरहँदा आइतबार भने सभामुख घिमिरेले पेलेरै संसद् बैठक अघि बढाएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad