राजनीति


दुई बुँदे सहमतिअनुसार गृहमन्त्रीमाथि पनि छानबिन हुन्छ : वर्षमान पुन

दुई बुँदे सहमतिअनुसार गृहमन्त्रीमाथि पनि छानबिन हुन्छ : वर्षमान पुन

नेपालखबर
असार १, २०८२ आइतबार १३:५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन नगरेको टिप्पणी गरेका छन्। 

पार्टी सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले नैतिकता प्रदर्शन व्यक्तिको निजी सवाल भएको बताए। आफूहरुले नैतिकताका आधारमा राजीनामा दिन भने पनि गृहमन्त्री लेखक तयार नभएको उनको भनाइ थियो।

‘मानव तस्करीजस्तो जघन्य घटनामा नाम जोडिएपछि हामीले गृहन्त्रीलाई नैतिकताका आधारमा राजीनामा गर्नुस् भनेका हौं’, पुनले भने, ‘अरुले सुझाव दिने हो, नैतिकता व्यक्तिले महसुस गर्नुपर्ने कुरा हो।’ 

आफूहरुको मागअनुसार सरकारका तर्फबाट भिजिट भिसाका नाममा भएको अनियमितता रोक्ने र दोषीहरुमाथि छानबिन गर्ने प्रतिबद्धता आएपछि संसद्को अवरोध हटाउन तयार भएको उनको भनाइ थियो।
 

पुनले न्यायिक समिति वा उच्चस्तरीय समिति जे नाम दिए पनि सरकारले नै गठन गर्ने भएकाले सरकारसँग भएको दुई बुँदे सहमतिबारे फैलाइएका भ्रममा नपर्न पार्टी पंक्ति र आमसर्वसाधारणमा आग्रह गरे। गृहमन्त्री लेखक पनि त्यस्तो समितिको छानबिन दायराभित्रै रहने पनि उनले उल्लेख गरे।

‘अध्यागमनका सहसचिव र गृहमन्त्रीको सचिवालयका मानिसहरुको मानव तस्करीमा संलग्नता देखिएको छ। मन्त्रीको सचिवालयका केही कर्मचारीको पृष्ठभूमि नै मानव तस्करीसँग जोडिएको प्रष्ट भइसक्यो’, पुनले भने, ‘एक महिनाभित्र गठन हुने भनिएको छानबिन समितिले गृहमन्त्रीमाथि पनि छानिबन गर्छ।’ 

विगतदेखि नै भिजिट भिसाका नाममा ठगी हुने गरेको विषय बहसमा आएपछि यसअघिका प्रकरणमा पनि समितिले छानबिन गर्ने सहमति सत्तापक्ष र आफूहरुबीच भएको पुनले सुनाए। पुनले एक महिनाभित्र सरकारले छानबिन समिति बनाएर निष्पक्ष छानबिन गरी मानव तस्करीमा संलग्नहरुलाई कारबाहीको दायरामा नल्याए फेरि संघर्षमा उत्रते चेतावनी दिए। 

फरक प्रसंगमा पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि केही दिनभित्र आफूहरुले गरेको सहमतिमा आउने विश्वास व्यक्त गरे। रास्वपाले पनि गृहमन्त्रीको राजीनामाको विषयलाई एजेण्डाका रुपमा अघि नसारेको भन्दै उनले छानबिन हुनुपर्ने एजेण्डासहित आफूहरुले मिलेरै संसद् अवरोध गरेको स्पष्ट गरे।

‘रास्वपाका साथीहरुले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षले हामीमाथि प्रतिशोध राखेको हुनाले केही दिन अझै हामी विरोध गर्छौैं भन्नुभएको छ’, पुनले भने, ‘उहाँहरुले पनि गृहमन्त्रीको राजीनामा भन्नुभएको छैन। छानबिन समिति गठनकै कुरा गर्नुभएको छ।’ पुनले भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु र रास्वपाबीचको सहकार्यले निरन्तरता पाउने पनि बताए।
 
‘बाहिरबाट  हेर्दा माओवादीले राजीनामा माग्यो छोड्यो।  छानबिन समिति, संसदीय वा न्यायिक समिति बन्नुपथ्र्यो भन्ने हामा शुभेच्छुकहरुले पनि उठाउनुभएको छ। सरकारले तीस दिनभित्र छलछाम गर्न लाग्यो, छानबिन भएन र गडबढी रोक्ने गरी अध्यययन प्रतिवेदन आएन भने फेरि संघर्ष गछौं’, पुनले भने। 

माओवादी जिम्मेवार प्रतिपक्षमा रहेको भन्दै उनले सधैैं संसद् अवरोध गर्ने र निकास नदिने हो भने संघर्षको अर्थ नहुने तर्क गरे। विद्यालय शिक्षार संघीय निजामतीजस्ता संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक संसदमा रोकिएको र बजेटमाथिको छलफल प्रभावित भएकाले पनि आफूहरुले सरकारसँग सहमति गरेको प्रष्टीकरण उनको छ।

‘जिम्मेवार पार्टीका नाताले कुरा मात्र उठाइराख्ने होइन, हामीले निकास पनि दिनुपर्छ’, पुनले भने। दुई बुँदे सहमतिलाई लिएर विभिन्न टिकाटिप्पणी भएकोबारे जानकार रहेको भन्दै पुनले आफूहरुको यो परीक्षा भएको बताए। उनले कांग्रेस–एमाले र माओवादी तीनै दल एकै भएको भन्ने टिप्पणीहरु भने स्वीकार्य नरहेको उल्लेख गरे।

‘तीन पार्टी एकै होइन, हामी फरक हौं भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ’, उनले भने, ‘यो हाम्रो पनि परीक्षा हो। जनताबाट विभिन्न किसिमका आवाज उठेका छन्। त्यसको प्रतिनिधित्व हामी गरिराख्छौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad