नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको प्रांगणमा मतदान भइरहेको छ।
पार्टीले ३२ वर्षे उमेर हद लागु गरेपछि अनेरास्ववियुले पहिलोपटक नेतृत्व चुन्न लागेको हो।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामाा छन् भने महासचिव पदका लागि दीपक धामी, आरके रोमस र सुनील कँडेल उम्मेदवार बनेका छन्।
यसैबीच एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफूलाई मत मागिदिन भनेर अनुरोध आइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यस क्रममा उनले अखिलको नेता उनकै प्रतिनिधिले चुन्ने र आफू मतदाता नभएको उल्लेख गर्दै ‘करकर’ नगर्न सुझाव दिएका छन्।
बाँस्कोटाले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अखिलको नेता उनकै प्रतिनिधिले चुन्छन्। दुवैलाई शुभकामना र फाइनल्ली जसले मन र मत जित्छ उसलाई बधाई! मलाई यसलाई भन्दे, उसलाई भन्दे भनेर करकर गरेर समय खेर नफालेकै राम्रो, किनभने म भोटर हैन।’
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रांगणमा ४३ वटा इलेक्ट्रिक भोटङ मेसिनमार्फत भइरहेको मतदान अपराह्न ४ बजेसम्म चल्ने अनेरास्ववियुले जनाएको छ।

गत आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको २४औँ महाधिवेशन उद्घाटन गरेका थिए।
Shares

प्रतिक्रिया