राजनीति


राष्ट्रपति रनिङ सिल्डमा प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

राष्ट्रपति रनिङ सिल्डमा प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

नेपालखबर
जेठ २८, २०८२ बुधबार १६:५४, काठमाडौँ

बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम छन्। प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन्। कीर्तिमान वापत दुवैले जनही १० हजार नगद पुरस्कार पाउने छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते। यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो। उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए। कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेस्रो भए। 

संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन्। संगीताले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन्। बागमतीकी अनिशा थारु दोस्रो र कर्णालीकी कृष्णा राना तेस्रो बने।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन्। दिनाले १२.८१ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी आरुशी भट्टराई दोस्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए।

छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते। उनले निर्धारित दुरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे। गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कास्य हात पारे। 

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए। उनले १.६८ मिटर जम्प गरे। सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोस्रो तथा गण्डकीका विवेक महतो तेस्रो स्थानमा रहे। सो स्पर्धाको छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन्। गण्डकीकी सविता खातुन मिया दोस्रो तथा कर्णालीकी हीरा बुढा तेस्रो बने। 

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए। उनले १३.६१ मिटर टाढा फाले। लुम्बिनीका राजन भण्डारी दोस्रो तथा कर्णालीका केशव विक तेस्रो भए। उक्त स्पर्धाको छात्रामा बागमतीकी एलिना विकले स्वर्ण  जितिन्। एलिनाले ८.६९ मिटर टाढा फालिन्। सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कास्य जिते। 

छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन्। नारायणीले ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन्।बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए। प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad