नेपाल धितोपत्र बोर्डमा बाहिरी हस्तक्षेप बढेको भन्दै बोर्डका कर्मचारीहरु आक्रोशित बनेका छन्।
बोर्डको ३३औँ वार्षिक साधारणसभामा कर्मचारीहरुले बोर्ड नियामकीय भूमिकाभन्दा धेरै निर्देशन पालना गर्ने भूमिकामा लागेको बताएका हुन्।
धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष तथा बोर्डका सहायक निर्देशक अध्यक्ष अजय ढुंगानाले बोर्ड निर्देशन गर्नेभन्दा निर्देशन मान्ने ठाउँ भएको आक्रोश पोखे।
‘हामी नियामकजस्तो रहेनौँ, अनेक ठाउँबाट आएका अनेकौँ निर्देशन मान्ने इकाइ मात्रै बन्यौँ’, उनले भने।
नियामकको रुपमा नियामकजस्तो रहन नसकेको उनले बताए।
अस्थिर नीति, अध्ययनविनाको तथा सरोकारवालासँग छलफलविना नै आकस्मिक रुपमा आएका नीतिहरुले बोर्डलाई नियामक नै बनाउन नसकेको गुनासो कर्मचारीहरुको छ।
नेपाल धितोपत्र कर्मचारी नियमावली अर्थ मन्त्रालयमा थन्क्याएर बेवास्ता गरेको ढुंगानाले बताए।
बजार विस्तारको कुरा हरेक वर्ष समेटिए पनि सधैँ बेवास्ता हुँदै आएको उनको भनाइ छ।
कर्मचारी सेवा सुविधा नियमावली २० महिनादेखि अर्थ मन्त्रालयमा थन्किनु, वस्तु विनिमय बजार ८ वर्षदेखि भाषणमा मात्र सीमित रहनुले बोर्ड बोर्डजस्तो हुन नसकेको उनले उल्लेख गरे।
यसले बोर्डको कार्यक्षमतामै प्रश्न उठेको ढुंगानाको भनाइ छ।
पछिल्लो समयमा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विवादमा तानिँदै आएका छन्। जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन स्वीकृतिका लागि बिचौलियामार्फत कमिसन मागेको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट फाइल उठाएर लगेको छ भने यसबारे छानबिन गरिरहेको छ।
यसैबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा पनि बोर्डले निर्णय नै गर्न सकेको छैन।
Shares

प्रतिक्रिया