नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएर पार्टीविरुद्ध षड्यन्त्र भएको बताएको छ।
अध्यक्ष नेपालमाथि पतञ्जली योगपीठ तथा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि बसेपछि आकस्मिकरुपमा बसेको एकीकृत समाजवादीको बैठकले यसको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।
‘हाम्रा पार्टीको विरुद्धमा पहिलेदेखि नै प्रहार हुँदै आएको थियो,’ प्रवक्ता प्रकाश ज्वालाले बैठकपछि भने, ‘त्यस्ता षड्यन्त्र हामीले प्रतिकार पनि गर्दै आयौँ। हामीले पराजित पनि गर्दै आयौँ।’
उनले थपे, ‘आज फेरि अध्यक्ष कमरेडलाई भ्रष्टाचारको मुद्दा दायर गरेर फेरि अर्को षड्यन्त्र गरिएको छ।’
राजनीतिक पूर्वाग्रह र उदेश्यसाथ मुद्दा अगाडि बढाइएको एकीकृत समाजवादीको ठहर छ। ‘राजनीतिक पूर्वाग्रह, प्रतिशोधका हिसाबले उदेश्यका साथ गरिएको छ। हामी यो कुराको प्रतिवाद र भण्डाफोर गर्छौं,’ ज्वालाले भने।
अध्यक्ष नेपालले कुनै भ्रष्टाचार र अनियमितता नगरेको भन्दै उनले अदालतबाट सफाइ लिएर फर्किने समेत दाबी गरे। ‘मुद्दा परेपछि हामी भाग्दैनौँ,’ प्रवक्ता ज्वालाले भने, ‘उहाँले भ्रष्टाचार र आर्थिक चलखेल गर्ने कुनै पनि काम गर्नु भएको छैन। हामी शीर ठाडो पारेर त्यसको प्रतिवाद गर्छौं। हामी अदालतबाट 'क्लिन चिट' लिएर फर्किन्छौँ।’
उनले यो घटनाबाट पार्टी कुनै पनि भ्रममा पर्न नहुने र पहिले जस्तै सक्रियताका साथ अगाडि बढ्ने समेत बताए।

Shares

प्रतिक्रिया