राजनीति


प्रधानमन्त्री ओलीको असारमा स्पेन र साउनमा तुर्कमेनिस्तान भ्रमणका लागि गृहकार्य

प्रधानमन्त्री ओलीको असारमा स्पेन र साउनमा तुर्कमेनिस्तान भ्रमणका लागि गृहकार्य

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १७:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेन र मध्य–एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान्छन्–जाँदैनन्, त्यो छुट्टै कुरा भयो। तर, प्रधानमन्त्री ओलीलाई आगामी असार र साउन गरी एक महिनाको अवधिमा संयुक्त राष्ट्र संघका निकाय अन्तर्गतका दुई महत्त्वपूर्ण कार्यक्रमका लागि यी दुई मुलुकको भ्रमण गर्ने अवसर जुरेको छ।

तुर्कमेनिस्तानको भ्रमण गर्ने विषय अनिश्चित रहे पनि ओलीले स्पेनको भ्रमण गर्ने ‘पक्का’ जस्तै रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

स्रोतका अनुसार, संयुक्त राष्ट्र संघअन्तर्गत ‘द फोर्थ इन्टरनेसनल कन्फरेन्स अन फिनान्सिङ फर डेभलपमेन्ट’ (एसएफडी–फोर) स्पेनको सेभिल्ली सहरमा १६–१९ असार (३० जुन–३ जुलाई) मा हुँदै छ। सो सम्मेलनले नयाँ र उदीयमान मुद्दाहरूलाई सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका लक्ष्यहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्न तत्कालका आवश्यकता र अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारको पक्षमा मत जाहेर गर्नेछ।

‘अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अन्य देशहरूलाई गर्ने सहयोग रकम स्थगित गरेका छन्। त्यसको असर नेपाललाई पनि परेको छ, ट्रम्पको निर्णयका कारण युरोपेली मुलुकले गर्ने सहयोग रकम पनि कटौती हुने पक्काजस्तै छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यो स्थितिमा ‘एसएफडी–फोर’ को सम्मेलन नेपालका लागि महत्त्वपूर्ण छ। नेपालको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन सम्मेलनमा प्रधानमन्त्री नै सहभागी हुनु नेपालका लागि लाभदायक छ।’

लगत्तै २०–२३ साउन (५–८ अगस्ट) मा मध्य–एसियाली राष्ट्र तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेस्रो सम्मेलन हुँदै छ। यो निकाय पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतकै हो।

आफै भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्र संघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकता दिँदै आएको छ। यही कारणले पनि यो सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने सम्भावना बढी रहेको अधिकारीहरू बताउँछन्।

‘प्रधानमन्त्री नै जाने–नजाने भन्ने कुराको टुङ्गो मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि लाग्ला,’ परराष्ट्र मन्त्रालयका ती अधिकारीले थपे, ‘तर अहिलेसम्म प्रधानमन्त्रीस्तरकै प्रतिनिधित्व हुन्छ भन्ने आधारमा तयारी थालिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad