पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सुनुवाइ सुरू भएको छ।
लामो समयको अन्तरालपछि बल्ल सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ अघि बढेको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो।
त्यसपछिका लागि इजलासबाटै सुनुवाइको मिति तोकिएको भए पनि विभिन्न कारणले सुनुवाइ नै नभएर धकेलिँदै आएको थियो।
यो विवाद सर्वोच्चमा आएको १४ वर्षभन्दा बढी भइसकेको छ।
अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने, न्यायाधीश रेग्मी जुम्ला निरीक्षणमा
पूर्ववर्ती प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै पालामा यस विवादको सुनुवाइ सकेर निर्णयको चरणमा पुर्याइसकिएको थियो। दुईपटक निर्णय सुनाउने दिन सारेर अन्तिममा अन्य आदेश गरी छाडिएको थियो। तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठ अवकाशमा गएपछि नयाँ गठन भएको संवैधानिक इजलासले पुनः सुनुवाइ गर्नुपरेको थियो।
त्यसअघि चोलेन्द्रशमशेर राणाका पालामा पनि सुनुवाइ सकेर निर्णय सुनाउने भनिएको दिन नै अन्य आदेश गरेर मुद्दा लम्ब्याइएको थियो।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले दिएको रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ।
द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।
अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
Shares

प्रतिक्रिया