राजनीति


आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्: प्रधानमन्त्री ओली

आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ २१, २०८२ बुधबार ९:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा बुधबार (जेठ २१ गते) जातीय विभेदविरुद्ध महत्त्वपूर्ण सन्देश दिएका छन्। 

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आमाले जात होइन, नवजात जन्माउने उल्लेख गर्दै मानवताभन्दा माथि कुनै जात नहुने बताएका हुन्। 

उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’

उनले अगाडि लेखेका छन्, ‘मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौँ, जातीय छुवाछुत उन्मूलन दिवसको सबैलाई शुभकामना!’

आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै छ।

नेपालमा हजारौँ वर्षदेखि जरा गाडेर बसेको जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा उक्त दिवस मनाउने गरिएको हो।

उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, सामाजिक संघसंस्था, राजनीतिक दलका भ्रातृ संस्था तथा दलित अधिकारकर्मीहरूको अगुवाइमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्। 

दिवसका अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौँमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गर्दै छ। 

कानुन तथा संविधानले जातीय छुवाछुत अन्त्य गरेको धेरै वर्ष भए पनि समाजमा अझै दलित समुदायका मानिसलाई जातकै कारण अपमान, कुटपिट र हत्या नै गर्ने शृंखला रोकिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad