वैकल्पिक राजनीतिको नयाँ बाटोबारे बहस गर्दै विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको चौथो स्मृति दिवस मनाइएको छ।
पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले सोमबार दिएको जानकारीअनुसार काठमाडौँको गोकर्ण हाउसमा आइतबार सभा गरी पार्टीका संस्थापक संयोजक थापाको सम्झना गरिएको हो।
कार्यक्रमका वक्ताहरूले उज्ज्वल थापाको राजनीतिक योगदानको प्रशंसा गरेका थिए।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले उज्ज्वल थापाले नेपालको वैकल्पिक राजनीतिमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै उनको मार्गदर्शनलाई अभ्यासमा ल्याउन अपिल गरे।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालले वैकल्पिक राजनीतिक अभियानलाई थप सशक्त बनाउन सबै मिलेर लाग्नुपर्ने धारणा राखे।
नागरिक पहिलो अभियानका डम्बर खतिवडाले वैकल्पिक राजनीतिको मैदान उर्वर भएको उल्लेख गर्दै मौलिक अभियानमा जोड दिए।
स्मृति समारोहमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान,सदस्यहरू धनेज थापा र नवराज थापाले पार्टी जीवन, वैकल्पिक राजनीति र उज्वल थापाको नेतृत्व र योगदानबारे चर्चा गरे।
स्मृति दिवसका अवसरमा थापाका बुवा उदयबहादुर थापा र आमा शान्ता थापासहित वैकल्पिक राजनीति एवं नागरिक समाजका अगुवा डक्टर देवेन्द्रराज पाण्डेलाई सम्मान गरिएको थियो।
विवेकशील साझा पार्टीका संस्थापक थापा कोरोना संक्रमणका कारण ४४ वर्षको उमेरमा २०७८ जेठ १८ गते बितेका थिए।
Shares

प्रतिक्रिया