राजनीति


बजेटबारे स्वर्णिम वाग्ले– धेरै उत्ताउलो र गैरजिम्मेवार मानेका छैनौँ

बजेटबारे स्वर्णिम वाग्ले– धेरै उत्ताउलो र गैरजिम्मेवार मानेका छैनौँ

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८२ बिहिबार १८:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले यसपालिको बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिने गरी आएको टिप्पणी गरेका छन्।

बिहीबार संसद्‍मा बजेट पेस भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै बजेट गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका गर्ने खालको भएको बताए।

‘यसलाई हामीले धेरै उत्ताउलो र गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले भने, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ।’

सरकारले जति बटेल ल्याए पछि कार्यान्वयन कमजोर रहेको उनको भनाइ छ। ‘यसको आधारचाहिँ हिजो साँझसम्म नेपाल सरकारले खर्च गरेको जम्मा १२ सय ३० अर्ब,’ वाग्लेले भने, ‘१९ सय ६४ अर्ब खर्च गर्छौं भनेर अघि अर्थमन्त्रीज्यूले भन्नुभयो। गत साल १८ सय ६० अर्बको बजेट थियो। तर, यो आर्थिक वर्ष सकिनलाई ६ हप्ता पनि बाँकी छैन। तर, नेपाल राज्यले खर्च गरेको जम्मा १२ सय ३० अर्ब छ।’

उनले थपे, ‘मानिलिऊँ अर्को दुई खर्ब नै बढ्यो भने पनि यो राज्यले खर्च गर्ने क्षमता त्यही १४, १५ खर्ब मात्रै रहेछ। एकदमै उदार हुने हो भने पनि १५ सय अर्बको चाचुन यो राज्यले खर्च गर्नेरहेछ।’

वाग्लेले आफूहरूले राज्यले खर्च गर्न सक्ने क्षमताबारे मनन गर्न आग्रह गरेको समेत बताए। ‘त्यसैले यो राज्यको क्षमताको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जोडदार टिप्णी गरेको छ,’ उनले भने, ‘यसलाई मनन् गर्नुहुन सरकारलाई आग्रह गर्छौं।’

वाग्लेले राजस्व उठाउने सरकारको लक्ष्य र विदेशी अनुदान पाइने अनुमान समेत पत्यारिलो नभएको टिप्पणी गरे। ‘अंक र स्वरुप र विश्वसनीयता पुरानै हुन्छ कि भन्ने हामीलाई डर लागेको छ,’ उनले भने, ‘ त्यस्तै राजस्वको कुरा पनि त्यति पत्यारिला छैनन्। हिजोसम्म राजस्व १० खर्ब पनि नाघेको छैन, अहिले १५ खर्ब उठाउँछु भन्नु भएको छ।’

वाग्लेले थपे, ‘अनुदानमा हामी ५३ अर्ब उठाउँछौँ भन्नु भएको छ। तर, हिजोसम्म १८ अर्ब उठेको छ। यो १९ सय अर्ब बजेट खर्च गर्ने हो भने हामी झण्डै–झण्डै ६ सय अर्ब ऋण बोक्दै छौँ। अविश्वसनीयताकै पासोमा यो रुमल्लिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad