राजनीति


नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा असन्तुष्टि चुलिएको छः ज्ञवाली

नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा असन्तुष्टि चुलिएको छः ज्ञवाली

नेपालखबर
जेठ १४, २०८२ बुधबार २०:२९, विराटनगर

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेताहरूको आचरणमा सुधार नदेखिँदा नागरिकमा असन्तुष्टि चुलिएको बताएका छन्। नेपालमा गणतन्त्र पछिका दिनहरूमा विकासले गति लिएको भए पनि नेताहरूका आचरणमा सुधार हुन नसकेको उल्लेख गरे।  

कोसी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम ज्ञवालीले लोकतन्त्रमा प्रगति व्यापक भए पनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताए। 

ज्ञवाली भन्छन्, ‘हामीले काम गरेका छौँ, राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ, खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ। यसको मूल कारण हाम्रो आचरण हो।’

संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या समस्या रहेकोले  यसलाई सुधार गरेर जाने बित्तिकै  निराशा हटेर जाने दाबी गरे।  

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता खालको विकासलाई नजरअन्दाज गरिएको बताए। सबै विकासलाई हेर्ने हो भने विश्वका अरू धेरै मुलुकभन्दा नेपालले मानवीय विकासमा छिटो प्रगति गरेको दाबी गरे।

नेता रिजालले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आय, सुत्केरी महिलाको मृत्युदरमा  गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए।  उनले भने, ‘सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्यो अनुसार काम नभएपछि जनतामा निराशा बढेको छ।’  

उनले दलहरूबिच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्नेमा जोड दिए।

नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नेताहरूमा नैतिकता र इमानदारिताको खाँचो रहेको उल्लेख गरे। उनले सबै खालका परिवर्तनहरूमा सबै क्षेत्र इमान्दार पूर्वक लाग्ने हो भने सब खालका निराशाहरू हटेर जाने उल्लेख गरे। 

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताले गरेको उल्लेख्य प्रगतिलाई आम जनतामा बुझाउन नसकिएको बताए। 
उनले भने, ‘हाम्रो कार्यशैली र ढाँचामा प्रश्न उठेका छ, त्यसलाई निरूपण गरेर अघि बढ्नुपर्ने पर्छ।’ 

अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनता समक्ष राख्दै जनताको हितमा काम गर्नुपर्ने उनको भनाई छ। 

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बाबजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिए। 

आज विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको कोसी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर भोली कन्सर्ट गर्दै छ। सरकारले सार्वजनिक गरेको दुई दिने कार्यक्रममा आज  सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया गरेको छ भने भोली प्रभात फेरी र दिउँसो युवा लक्षित कन्सर्ट गर्ने सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad