राजनीति


भिजिट भिसा सेटिङमा तानिएका तीर्थराज ५ गृहमन्त्रीका पालामा कहाँ थिए?

भिजिट भिसा सेटिङमा तानिएका तीर्थराज ५ गृहमन्त्रीका पालामा कहाँ थिए?

नेपालखबर
जेठ १४, २०८२ बुधबार १८:७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा हाल अख्तियारको अनुसन्धानमा छन्। अख्तियारले पक्राउ गर्नु अघिल्लो दिन मात्रै गृह मन्त्रालय सरुवा भएका भट्टराईलाई अख्तियारले तारेखमा राखेर अनुसन्धान गरिरहेको छ। 

तर अख्तियारले अनुसन्धान गर्नु भन्दा पहिले नै उनलाई सरुवा गरिसकेको दाबी लेखकको छ। 

उनलाई अध्यागमन कार्यालयको प्रमुखमा सरुवा गर्ने र अनुसन्धानमा तानिनु अघिल्लो दिन गृह मन्त्रालय नै फिर्ता गर्ने निर्णयले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग उठिरहेको छ। 

तर लेखकले भने उनी ५ वर्षदेखि गृहमन्त्रालयमै कार्यरत रहेको र आफूले एउटा विभागबाट अर्को विभागमा सरुवा गर्ने निर्णय मात्रै गरेको बताएका छन्। 

गृहमन्त्रीले बुधबार दिएको जानकारी अनुसार भट्टराई ५ वर्षदेखि गृहमन्त्रालयमा थिए र उनले यसबिचका पाँचै गृहमन्त्रीको पालामा महत्वपूर्ण जिम्मेवारी पाएका थिए। 

‘तीर्थराज भट्टराई मैले कुनै मन्त्रालय वा कुनै विभागबाट ल्याएको कर्मचारी होइन। म यस मन्त्रालयको जिम्मेवारीमा आउँदा उहाँ यही मन्त्रालयको महत्वपूर्ण विभाग कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो’, गृहमन्त्री लेखकले भने, ‘उहाँलाई अध्यागनमन कार्यालयमा सरुवा गरेको हो। उहाँले यसअघि मन्त्रालयका महत्वपूर्ण विभागहरू र प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसक्नु भएको छ।’

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण व्यवस्थापन विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमामा काम गरिसकेका भट्टराईले मोरङ, महोत्तरी र गोर्खा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन्। 

भट्टराई २०७७ असार १९ गतेदेखि गृह मन्त्रालयमा काम गरिरहेका छन्। २०७७ सालमा रामबहादुर थापा गृहमन्त्री हुँदा गोर्खाको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए। 

२०७७ फागुन १४ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीको सीडीओ भएर गए। उनलाई तत्कालीन गृहमन्त्री थापाले नै महोत्तरीमा खटाएका थिए। 

महोत्तरीबाट २०७८ सालमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा सरुवा भएका थिए। बालकृष्ण खाँणले महानिर्देशकका रुपमा उक्त विभागमा सरुवा गरेका थिए। 

२०७८ सालकै पुसमा जिल्ला प्रशासन कार्यालय मोरङको सीडीओ भए। उनलाई मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा रवि लामिछानेले खटाएका थिए। 

त्यहाँबाट उनी गृह मन्त्रालयमा फर्किए। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनी गृहमन्त्रालयमै सहसचिवका रुपमा कार्यरत थिए। 

सामान्य प्रशासन मन्त्रालयले त्यहाँबाट केही समय मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडा सरुवा गरेको थियो। 

२०८० साउन ३ गते उनलाई रवि लामिछाने गृहमन्त्री हुँदा गृहमै फर्काएका थिए। रविले नै उनलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मवारी दिएका थिए। 

त्यसपछि रमेश लेखकले उनलाई त्यहाँबाट विमानस्थलको अध्यागमन कार्यालयको जिम्मेवारी दिएर त्यहाँ कार्यरत प्रमुखलाई कसुरजन्य विभागमा सरुवा गरेका थिए। 

आफैँले सरुवा गरेका कर्मचारी सेटिङको आरोपमा अनुसन्धानमा तानिएपछि गृहमन्त्री लेखक पनि प्रश्नको घेरामा परेका हुन्। तर उनले आफू मातहतको नभइ छुट्टै संवैधानिक आयोगले अनुसन्धान गरिरहेकाले आफ्ना कारण मुद्दा प्रभावित नहुने अडानमा छन्। 

एउटा कर्मचारी कुनै मुद्दामा मुछिए मन्त्रीले राजीनामा दिनु पर्ने नजिर बसाल्न नहुने लेखकको तर्क छ। लेखकको राजीनामा माग गर्दै दुई दिनदेखि संसद बैठक चल्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad