गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनलाई लिएर नेकपा एमालेले काठमाडौँ नियन्त्रणमा लिनुपर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।
भिजिट भिसा प्रकरणमा आफूबारे उठेका प्रश्नको जवाफ दिन बुधबार आयोजित पत्रकार सम्मेनलमा उनले ‘आन्दोलनलाई संगित महोत्सवका रुपमा बनाउ’ भन्ने सन्दर्भमा त्यस्तो अभिव्यक्ति दिएको जिकिर गरे।
गृहमन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीले भोलि गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा संगीतमय बनाउँ। संगीत महोत्सवका रुपमा बनाऔंँ, सांस्कृतिक महोत्सवको रुपमा मनाऔं भन्ने अर्थमा भन्नुभएको मैले बुझेको छ।’
उनले थपे, ‘उहाँले संगीतमय नियन्त्रण भन्नु भएको हो, हिंसाको राजनीतिक नियन्त्रण होइन भन्ने मैले बुझेको छु।’
संविधान ठूलो त्यागबाट बनेको भन्दै उनले यसलाई उल्ट्याउने कुरा कुनै पनि हालतमा नसहने समेत उल्लेख गरे। ‘संविधान अग्रजहरूको त्यागतपस्याबाट प्राप्त भएको हो,’ लेखकले भने,‘ नेपाली नागरिकको ठूलो लगानीबाट भएको हो। त्यसैले यसलाई उल्ट्याउने कुरा कुनै हालतमा सह्यै हुँदैन। त्यसकारण संविधान र व्यवस्था उल्ट्याउने कुरा बेठिक कुरा हो।’
प्रधानमन्त्री ओलीले आइतबार एमालेकाे कार्यक्रममा राजावादीहरुले जेठ १५ गते गर्न लागेको आन्दोलनप्रति लक्षित गर्दै त्यस दिन जे, जसरी भए पनि काठमाडौँ आफ्नो नियन्त्रणमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री ओलीको त्यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गर्दै उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरेको थियो।
नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले समेत प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका थिए। उनले आइन्दा त्यस्ता अभिव्यक्ति सुन्न नपरोस् भन्दै प्रधानमन्त्री ओलीलाई सचेत गराएका थिए।
Shares

प्रतिक्रिया