‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधि सभाको बैठकमा विरोध जनाए।
बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो। सभामुख देवराज घिमिरेले बैठक सुरू गरेलगत्तै विपक्षी दलले पुनः विरोध जनाए।
बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो।
बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए। केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाले भने कोही आपसमा छलफल गर्न थाले। कोही सांसद चमेनागृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागे। प्रतिनिधि सभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधि सभाका केही सांसद भने राष्ट्रिय सभाको बैठक अवलोकन गर्न छिरे।
राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे नै सुरू भएको थियो। तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो। फुर्सदको सदुपयोग गर्दै प्रतिनिधि सभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो।
प्रतिनिधि सभा सदस्यहरू राष्ट्रिय सभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए। प्रतिनिधि सभा सदस्यहरू राष्ट्रिय सभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका हुन्।
राष्ट्रिय सभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थिए। यो दृश्य देखेपछि राससले सांसद नेम्वाङलाई सोध्यो, ‘राष्ट्रिय सभामा तपाईँहरू किन जानुभएको?’
उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौँ,’ उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा छन्। राष्ट्रिय सभा स्थायी सदन हो भने प्रतिनिधि सभाको कार्यकाल भने पाँच वर्षको रहन्छ। संविधानतः दुवै सदन एकअर्काका परिपूरक पनि हुन्। सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत हुन्छ।
यस्तै, अर्का सांसद सराज अहमद फारूकीले पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको बताए।
‘हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम कारबाहीको बारेमा जानकारी लिने इच्छा राखेका थियौँ। त्यो आज पूरा भयो’, उनले भने।
फुर्सदको समयलाई सदुपयोग गरेर दर्शकदीर्घामा नै बसेर राष्ट्रियसभाको बैठकका बारेमा जानकारी लिएको उनले जानकारी दिए। उनले राष्ट्रियसभाको बैठक र सञ्चालन तरिका भने प्रतिनिधि सभाको जस्तै भए पनि रमाइलो लागेको बताए।
प्रतिनिधि सभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्दै थिए। सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको काम कारबाही नियमित र उस्तै रहने गर्छ। यद्यपि बहस छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ।
Shares

प्रतिक्रिया