मधेस प्रदेश सभाका सदस्य सरोजकुमार सिंहका स्वकीय सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उक्त उपभोक्ता समितिको खातामा दाखिला भएको रकम स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई झिक्न लगाई उक्त रकम श्रीमतीको खातामा ल्याएको आरोप अख्तियारको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट धनुषा पुगेको टोलीले विनोदकुमारलाई पक्राउ गरेको हो।
‘मधेस प्रदेश सभा सदस्य सरोजकुमार सिंहसमेतले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गर्न लगाई साथै निजको निजी सचिव विनोद कुमार लाल कायस्थसमेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीको आधारमा जिल्ला महोत्तरी, जलेश्वर-१० हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ सरस्वती टोल बस्ने विष्णुदेव लालको नाति बलिभद्र लालको छोरा महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंहको स्वकीय सचिव वर्ष ६५ को विनोद कुमार लाल कायस्थलाई मिति २०८२।०२।१२ गते अपरान्ह १:०० बजेको समयमा जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारले भनेको छ।
साथै, प्रदेश सभा सदस्य सरोज कुमार सिंहको मोबाइलसहितका विद्युतीय उपकरण पनि नियन्त्रणमा लिई अनुन्धान गरिरहेको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया