राजनीति


१० वर्षपछि माओवादीमा फर्किंदा गंगानारायणले हानेको छलाङ

१० वर्षपछि माओवादीमा फर्किंदा गंगानारायणले हानेको छलाङ

सागर न्यौपाने
जेठ १२, २०८२ सोमबार १६:२८, काठमाडौँ

डा बाबुराम भट्टराई र त्यसपछि महीन्द्र राय यादवलाई छाडेर सोमबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका गंगानारायण श्रेष्ठले ठूलो राजनीतिक छलाङ मारेका छन्।

आइतबार मात्र नेपाल समाजवादी पार्टी (नेसपा) लाई पुनर्गठन गर्दै आफूलाई संयोजक घोषणा गरेका श्रेष्ठ त्यसको २४ घण्टा नबित्दै माओवादी केन्द्रको सचिव बनेका हुन्।

सोमबार माओवादी अध्यक्ष प्रचण्ड र श्रेष्ठले पाँच बुँदे पार्टी समायोजनसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

यससँगै उनी माओवादी केन्द्रको प्रभावशाली नेताहरूको लहरमा उभिएका छन्। माओवादीमा सचिवका रूपमा दीनानाथ शर्मा, राम कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, हितराज पाण्डे, गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य गरी ९ जना थिए। अब १० औँ नम्बरमा श्रेष्ठको नाम थपिएको छ।

आफूभन्दा माथिल्लो वरीयताका यादवलाई पछि पार्दै पेरिसडाँडामा पुनः प्रवेश गरेका श्रेष्ठ उक्त पार्टीबाट अलग हुँदा पोलिट्ब्युरो सदस्य थिए। आफ्ना समकालीन नेताहरूमध्ये उनले प्राप्त गरेको पद सबैभन्दा उच्च हो। राजनीतिक उतारचढाव अनि पार्टी फुट–जुटलाई उपयोग गर्दै नेतृत्वमा छलाङ मार्न उनी सफल देखिएका छन्।

२०७२ असोज ९ गते डा बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गर्दा श्रेष्ठले समेत साथ दिएका थिए। भट्टराईका ‘ब्याकबोन’ कै रूपमा रहेका उनी ९ वर्ष ८ महिनापछि पुरानै घर फर्किंदा भने एक्लै देखिए।

त्यसो त गत २०७९ को निर्वाचनमै उनले सिन्धुली क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षमा माओवादीको चुनाव चिह्न लिएर प्रदेश सभा सदस्य चुनाव जितेका थिए।

चुनाव जितेपछि उनी केही समय २०७९ माघ १२ गते बागमती प्रदेश सभामा आन्तरिक मामिला मन्त्री पनि बने।

१७ वर्षपछि छाडे भट्टराईको साथ, महीन्द्रसँग पनि मिलेनन्
सिन्धुलीको कमलामाई नगरपालिका ५, सिलामे गाउँमा २०२६ फागुन १० गते जन्मिएका श्रेष्ठ २०४३ देखि राजनीति थालेको बताउँछन्। २०५२ मा उनी माओवादीको जनयुद्धमा सहभागी भए। २०५२ सालमा अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय महासचिव रहेका उनी २०६० सालमा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य बने। 

२०६३ माघ १ गतेदेखि २०६४ सम्म अन्तरिम व्यवस्थापिका संसदको सदस्य रहेका श्रेष्ठ २०६५ देखि एकीकृत माओवादीको केन्द्रीय सदस्य बने। 

२०६५ देखि कोचिला राज्य समिति सहइन्चार्ज बनाइएका उनी २०७१ देखि माओवादीको पोलिटब्युरो सदस्य बनेका थिए। 

त्रिभुवन विश्वविद्यालयबाट सामाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी साहित्यमा प्रभात नामले चिनिन्छन्। उनले कविता, गीत, कथा, उपन्यास र संस्मरण लेखेका छन्। 

डा भट्टराई प्रधानमन्त्री रहेका बेला (२०६८ भदौ–०६९ फागुन) प्रमुख स्वकीय सचिव बनेका श्रेष्ठले २०७२ असोज ९ गते माओवादी छोडेका हुन्।

त्यसपछि भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी गठन गर्दा साथ दिने श्रेष्ठ पनि एक हुन्। 

२०७२ देखि २०७५ सम्म नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य हुँदै हेडक्वार्टर सदस्य बनेका उनी २०७६ वैशाखदेखि ०७७ वैशाखसम्म एक वर्ष उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता भएर बनेको समाजवादी पार्टी नेपालको महासचिव बने।

त्यसयता भट्टराईको पार्टी एकता र विभाजनबाट गुज्रियो। तर, श्रेष्ठले निरन्तर उनैलाई साथ दिइरहे। 

शान्ति प्रक्रियामा आएयताका १७ वर्ष भट्टराईसँगै रहेका श्रेष्ठले २०८० चैत ३ गतेदेखि उनलाई छोडे। 

जुनबेला नेसपा विभाजन गरेर उनी महीन्द्र राय यादवसँग लागेका थिए। 

माओवादी केन्द्रसँग एकता गर्ने विषयमा कुरा नमिल्दा २०८० चैत ३ गते महीन्द्र राय यादव र श्रेष्ठसहितका नेताले नेसपा विभाजन गरेका थिए।

बाबुराम भट्टराईलाई पनि माओवादीसँग एकतामा ल्याउने प्रयास असफल भएपछि महीन्द्र राय समूहले नेसपा फुटाएर माओवादीसँग एकता गर्ने सहमति गरेको थियो।

यद्यपि, एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको थियो। त्यसबेला वैचारिक एकरूपता र संगठनात्मक तयारीका लागि माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल नै बनाएको थियो।

तर, पार्टी एकता नै नभई श्रेष्ठ माओवादीमा समाहित भएका छन् भने यादव लगायतका नेता छुटेका छन्। जुन विषयले बाबुराम भट्टराईलाई श्रेष्ठले छोडे, त्यही एकताको विषयमै कुरा नमिल्दा यादवलाई समेत छोड्न श्रेष्ठ तयार भए। यादवले पार्टीको नाम फेर्नुपर्ने सर्त अघि सारेका थिए। यसमा प्रचण्ड पनि सकारात्मक थिए। तर, श्रेष्ठ बिनासर्त माओवादी प्रवेश गरी पदाधिकारी तहमा स्थान सुरक्षित गरे, माओवादीमा प्रायः कार्यकारी तहका छलफल हुने मञ्च कार्यालयको सदस्य भएर। 

डा बाबुराम भट्टराईले माओवादी छोड्दा कम्युनिस्ट नरहेको घोषणा गरेका थिए। उनले बनाएको नयाँ शक्ति पार्टीको विचार पनि गैरकम्युनिस्ट भनेका थिए। श्रेष्ठले झण्डै ९ वर्ष त्यही गैरकम्युनिस्ट धारमै बिताए।

अनेरास्ववियु छैटौँबाट राजनीति थालेका उनी ५६ वर्षको उमेरमा माओवादीमा पुनः जोडिँदा दोस्रो तहका अन्य नेताहरूको पंक्तिमा पुगेका छन्, जुन पंक्तिबाटै प्रचण्डपछि पार्टीको नेतृत्व तय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad