राजनीति


पछि धकेलिँदै युवा संघको चुनाव

पछि धकेलिँदै युवा संघको चुनाव

नेपालखबर
जेठ १२, २०८२ सोमबार १४:४०, पोखरा

राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औँ महाधिवेशन अझै लम्बिने भएको छ। सोमबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भनिए पनि दिउसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली नै प्रकाशन नभएपछि प्रक्रिया लम्बिने निश्चित भएको हो।

निर्वाचन अधिकृत जय गुरुङका अनुसार उम्मेदवारको अन्तिम नामावली आउन अझै एक घण्टा लाग्ने छ।

‘हामीले अन्तिम नामावली प्रकाशन गरेपछि मतदानको लागि प्राविधिक टोलीलाई नामावली हस्तान्तरण गर्छौँ,’उनले नेपालखबरसँग भने,‘विद्युतीय मतदान हो, मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्न ६/७ घण्टा लाग्छ। प्राविधिक काम हो नि त। सके आज राति र नभए भोलि मतदान सुरु होला।’

उनका अनुसार मतदानपछिको परिणाम भने तत्काल आउने छ।

एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन जेठ ९ गते शुक्रबारबाट सुरु भएको हो। एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि निर्देशन दिए पनि प्रत्यासीहरुले अडान नछोड्दा महाधिवेशन चुनावमा धकेलिएको छ।

युवा संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्। एमाले नेतृत्वले नेपालगञ्ज महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिएका क्षितिजलाई नै अध्यक्ष बनाउने तयारी गरे पनि महासचिव सुमनले दाबी नछोडेपछि युवा संघमा चुनाव निश्चित भएको हो। 

यद्यपि, आन्तरिक रुपले सहमतिको प्रयास भने जारी रहेको नेताहरुले बताएका छन्। एमाले केन्द्रीय सदस्य तथा युवा फाँट इन्चार्ज राजीव पहारीका अनुसार सहमतिको प्रयास जारी छ।

‘सहमतिको प्रयास भइरहेको छ तर भएको छैन,’उनले नेपालखबरसँग भने। 

वर्तमान अध्यक्ष थेवेले महाधिवेशनअघि आफू अब पार्टीको जिम्मेवारीमा जाने र अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए। महाधिवेशन आयोजनाको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा युवा फाँट इन्चार्ज राजीवले ‘अब क्षितिज कमरेड पार्टीको काममा आउनुहुनेछ, हामी उहाँलाई स्वागत गर्न तम्तयार छौँ’ भनेका थिए। 

तर, एमाले अध्यक्ष ओली तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतसहितको टिमले क्षितिजलाई अगाडि सारेपछि अहिले राजीव पनि क्षितिजकै पक्षमा छन्।

उता, अघिल्लोपटक अध्यक्षको दाबी छाडेका महासचिव सुमनले पार्टी नेतृत्वको दवाबलाई नजरअन्दाज गर्दै चुनावमै जाने अडान लिइदिए। जसले गर्दा अध्यक्षमा दुई प्रतिस्पर्धी आमने–सामने भए। 

अध्यक्षमै प्रतिस्पर्धा हुने भएपछि अन्य पदका आकांक्षीहरु पनि दुई समूहमा विभाजन भए। पदाधिकारी र सदस्यमासमेत गरेर ३९९ जनाको उम्मेदवारी परेको छ। युवा संघका अध्यक्षसहित ९ जना पदाधिकारी, १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पद रहेको छ। ती पदमा  ३९९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिको भनाइ छ।

प्यानल नै बनाएर चुनावमा होमिएका दुई अध्यक्षका उम्मेदवारमध्ये क्षितिज थेवेको समूहबाट पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन्।  महराज यसअघि अध्यक्षको दावेदार थिए।

तर, क्षितिज दोहोरिँदा उनले उपाध्यक्ष स्वीकारेका हुन्। सो समूहबाट महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ। यस्तै खुला सचिवमा मदन भण्डारी र देवु बस्नेतले खुला सचिव, महिला सचिवमा निशा लिम्बूले महिला सचिव तथा मोविन आलमले मधेशी सचिवमा उम्मेदवारी दिँदै क्षितिजलाई सघाएका छन्।  

लेखा आयोगमा उम्मेदवारी दिने किसुन जैशी, निर्वाचन आयोगका मदन गिरी, अनुसशान आयोगका मोहम्मद मिजाम र युवा विज्ञ परिषद्का  चीन लामाले पनि क्षितिजकै प्यानल रोजेका छन्।

सुमनको पक्षबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम उम्मेदवार छन् भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माले प्रतिस्पर्धा गर्ने भएका छन्। खुला सचिवतर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चित्तरन्जन यादव मैदानमा छन्।

सो समूहबाट लेखा आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ।

यता, चुनाव निश्चित हुँदै गर्दा केही केन्द्रीय सदस्यहरु निर्विरोध बनेका छन्। सर्वसम्मत हुनेमा कोसी प्रदेशबाट जिल्ला खुला सदस्यहरु बढी रहेका छन्। ताप्लेजुङ, पाँचथर,इलाम,झापा र सुनसरीबाट क्रमशः मनोज लिम्बू, गणेश योङहाङ,नागेन्द्र श्रेष्ठ,खगेन्द्रराज आन्देम्बे र दिवस राई निर्विरोध भएको निर्वाचन आयोगको भनाइ छ। 

यो अध्यक्षका प्रत्यासी क्षितिजको गृह क्षेत्र हो। उदयपुर, ओखलढुंगा र सोलुखुम्बुबाट पनि क्रमशः तुलसीराम चौलागाईं,विनोद खत्री र राजु खड्का निर्विरोध बनेका छन्। 

यस्तै महिलातर्फको खुला केन्द्रीय सदस्यमा कला राई र युवान्तिका राई निर्विरोध बनेका छन्। कोशीबाटै महिला सदस्यमा अनुपमा राई, कान्ता भट्टराई,सुमना लिवाङ,विपना बुढाथोकी, सुम्निमा खातुन,रमिला नेपाल र सोफिया लिम्बू केन्द्रीय सदस्यमा निर्विरोध बनेका छन्। 

गण्डकीबाट गोरखाका प्रविण अधिकारी,मनाङका मदन गुरुङ र मुस्ताङका केसाङ ठोक्या ठकुरी भूगोलतर्फ निर्विरोध भएका छन्। रुकुम पूर्वबाट हेमराज केसी,रुकुम पश्चिमबाट गंगाराम रोकाय, मुगुबाट जनकराज राउत,कञ्चनपुरबाट रोहित कुँवर,डडेल्धुराबाट भरत मल्ल,पर्साबाट रवि गुप्ता,रसुवाबाट सुरज गुरुङ,भक्तपुरबाट रविन थापा क्षेत्री,दाङबाट फुर्वा लामा,बर्दियाबाट रमेश रावल पनि निर्विरोध केन्द्रीय सदस्य बनेका छन्। 

अन्तर जिल्ला  विशेष प्रदेश महिलातर्फबाट विन्दु शर्मा र सोनु बराल केन्द्रीय सदस्यमा पुग्दा लुम्बिनी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा पूजा थारु, पूर्णिमा बुढाथोकी, कल्पना पाण्डे मगर, लक्ष्मी बुढा,श्रद्धा कुँवर क्षेत्री,मीनाकुमारी बिसी निर्विरोध बनेका छन्।

निर्वाचन समितिले यो नै अन्तिम नभए पनि निर्विरोधको संख्या पनि ठूलै भएको जानकारी दिएको छ। पूर्वबाट निर्विरोध हुनेको संख्या बढी हुँदा त्यसको दवाब चाहिँ अध्यक्षका प्रत्यासी सुमनमाथि परेको छ। यद्यपि, सुमन समूहलाई समर्थन गर्ने युवा संघका एक नेताले भने त्यो कुरा अस्वीकार गरे।

उनले भने,‘भूगोलमा कम उम्मेदवारी पर्नु भनेको आफू–आफू सहमतिमा आउनु हो। त्यसले त झन हामीलाई पो फाइदा गरेको छ। यहाँ प्रतिनिधिहरुले चुनाव चाहेका छन्। नदीलाई रोक्न सकिँदैन। निर्वाचन हाम्रो पक्षमा आउने पक्कापक्की भइसक्यो।’ 

उनले सुमन समूहलाई पूर्वराष्ट्रपति विद्या भण्डारी र एमालेका वर्तमान महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता गोकुल बास्कोटालगायतको सद्भाव रहेको जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad